
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको आजदेखि सुरु भएको पहिलो भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्वका साथ कभरेज गरेका छन् । भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ सुरुवात गर्ने अवसरका रूपमा व्याख्या गर्दै उनीहरूले आर्थिक सहयोग, व्यापार, ऊर्जा, पूर्वाधार र हवाई सम्पर्क विस्तारका विषयलाई प्राथमिकता दिएका छन् ।
भारतका प्रमुख अंग्रेजी दैनिक तथा टेलिभिजन सञ्चारमाध्यमले बालेनको भ्रमणलाई समाचारको प्रमुख विषय बनाएका छन् । कतिपयले यसलाई नेपालले भारतसँगको सम्बन्धमा नीतिगत प्राथमिकता परिवर्तन गरेको संकेतका रूपमा व्याख्या गरेका छन् भने केहीले दुई देशबीचका पुराना असमझदारी समाधान गर्ने अवसरका रूपमा हेरेका छन् ।
भारतको प्रभावशाली दैनिक हिन्दुस्तान टाइम्स ले भ्रमणको पूर्वसन्ध्यामा प्रकाशित समाचारमा नेपालले भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रस्ताव गरेको विषयलाई प्रमुखताका साथ उठाएको छ । उक्त प्रस्तावमा अनुदान र सहुलियतपूर्ण ऋण समावेश रहेको समाचारमा उल्लेख छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र विकास परियोजना अघि बढाउन नेपालले यस्तो सहयोग मागेको उसको रिपोर्टमा उल्लेख छ ।
भारतले भने व्यापार, लगानी, पारवहन, ऊर्जा, डिजिटल कनेक्टिभिटी र स्वास्थ्य क्षेत्र समेटिएको संयुक्त भिजन डकुमेन्ट प्रस्ताव गरेको समाचारमा जनाइएको छ । भ्रमणका क्रममा उक्त दस्तावेज सार्वजनिक गर्ने तयारी रहेको पनि पत्रिकाले उल्लेख गरेको छ ।
हिन्दुस्तान टाइम्सले आर्थिक सहकार्यसँगै दुई देशबीचका असमझदारीलाई पनि महत्त्व दिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद तथा भारतीय सेनामा नेपाली गोर्खा सैनिक भर्तीसम्बन्धी अग्निपथ योजनामा देखिएको मतभेदलाई उसले द्विपक्षीय सम्बन्धका संवेदनशील विषयका रूपमा प्रस्तुत गरेको छ ।
द इकोनोमिक टाइम्स ले बालेनको भ्रमणलाई भारतप्रतिको नेपालको नीतिमा आएको परिवर्तनका रूपमा व्याख्या गरेको छ । प्रधानमन्त्री बनेपछि सुरुमा विदेश भ्रमण नगर्ने घोषणा गरेका र भारतीय विदेश सचिवसँगको भेटमा समेत अनिच्छा देखाएका बालेनले अहिले भारतसँगको सम्बन्ध सुदृढ बनाउन सक्रियता देखाएको उसको विश्लेषण छ ।
नेपालको पूर्वाधार र अर्थतन्त्र विकासका लागि भारतसँग सहकार्य आवश्यक रहेको बुझाइपछि बालेनको दृष्टिकोणमा परिवर्तन आएको समाचारमा उल्लेख छ । पत्रिकाले ऊर्जा व्यापार, जलविद्युत् निर्यात, नयाँ परियोजना र लगानी विस्तारलाई भ्रमणका महत्त्वपूर्ण पक्ष मानेको छ ।
नेपालले पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्र प्रयोगको अनुमति मागिरहेको विषयलाई पनि इकोनोमिक टाइम्सले प्राथमिकता दिएको छ । त्यस्तै सिद्धार्थ राजमार्ग स्तरोन्नति र बाढीपछिको पुनर्निर्माणका लागि नेपालले भारतसँग अनुदान मागेको समाचारमा उल्लेख छ ।
द इन्डियन एक्सप्रेसले व्यापारदेखि ऊर्जा र प्रविधिसम्मका विषयलाई भ्रमणको मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरेको छ । दुई देशबीचको व्यापार, विकास साझेदारी, ऊर्जा, भौतिक तथा डिजिटल कनेक्टिभिटी र नवप्रवर्तनमा सहकार्य विस्तार हुने उसको समाचारमा उल्लेख छ ।
पत्रिकाले बालेनको भ्रमणलाई भारतको ‘नेबरहुड फस्र्ट’ अर्थात् छिमेकीलाई प्राथमिकता दिने नीतिसँग पनि जोडेको छ । भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको सन्देश भ्रमणमार्फत दिन खोजेको उसको कभरेजको आशय छ ।
टाइम्स अफ इन्डिया र एनडीटीभी ले भने भ्रमणको कार्यक्रम, उच्चस्तरीय भेटवार्ता र सम्भावित सम्झौतामा बढी जोड दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्ता, राष्ट्रपति द्रौपदी मुर्मूसँगको भेट, ऊर्जा परियोजनाको उद्घाटन तथा विभिन्न क्षेत्रमा समझदारीपत्र आदानप्रदान हुने विषयलाई उनीहरूले प्रमुखताका साथ समेटेका छन् ।
बालेन नेतृत्वको ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जाने, मोदीसँग सोमबार द्विपक्षीय वार्ता हुने र नेपाल–भारत व्यापार मञ्चमा प्रधानमन्त्री सहभागी हुने विषय पनि भारतीय सञ्चारमाध्यमको कभरेजमा परेका छन् ।
इन्डिया टुडेले भने बालेनले पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि भारत रोजेको विषयलाई विशेष महत्व दिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेको प्रसंगसँग तुलना गर्दै पत्रिकाले बालेनको भारत भ्रमणलाई नेपालको कूटनीतिक प्राथमिकतासँग जोडेको छ ।
भारतका रणनीतिक मामिलासम्बन्धी सञ्चारमाध्यम इन्डिया सेन्टिनेल्सले भने भ्रमणलाई सीमा विवाद, बाढीपछिको सहयोग र कनेक्टिभिटीको दृष्टिकोणबाट विश्लेषण गरेको छ । दुई देशबीच आर्थिक सहकार्यका सम्भावना रहे पनि पुराना विवादको व्यवस्थापन भ्रमणको महत्वपूर्ण चुनौती हुने उसको निष्कर्ष छ ।
समग्रमा भारतीय सञ्चारमाध्यमको कभरेजमा तीनवटा विषय प्रमुख देखिन्छन् । पहिलो, बालेन नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध सुधार र सहकार्य विस्तार गर्ने भारतको चाहना । दोस्रो, व्यापार, ऊर्जा, लगानी र पूर्वाधारमा आर्थिक साझेदारी बढाउने सम्भावना । तेस्रो, सीमा विवाद र अग्निपथजस्ता पुराना असमझदारी व्यवस्थापन गर्ने चुनौती ।
बालेनले प्रधानमन्त्री बनेपछि पहिलो द्विपक्षीय विदेश भ्रमण भारतबाट सुरु गर्नुलाई पनि भारतीय सञ्चारमाध्यमले अर्थपूर्ण मानेका छन् । यसलाई नेपालले भारतसँगको सम्बन्धलाई व्यावहारिक आर्थिक सहकार्य र विकास साझेदारीमा केन्द्रित गर्न खोजेको संकेतका रूपमा व्याख्या गरिएको छ ।
यद्यपि, भारतीय सञ्चारमाध्यममा आएका आर्थिक सहयोगका प्रस्ताव र संयुक्त भिजन डकुमेन्टसम्बन्धी विवरणलाई सहमति भइसकेका विषयका रूपमा बुझ्न मिल्दैन । भ्रमणबाट प्राप्त हुने वास्तविक उपलब्धि र दुई देशबीच हुने औपचारिक सहमतिले मात्रै सम्बन्धको आगामी दिशा स्पष्ट गर्नेछ ।