
काठमाडौं : एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका ३०० सयभन्दा बढी विद्यार्थीहरू फेरी कक्षामा फर्कन सक्नेछन् । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै मात्र नगरपालिका कार्यालयमा यस सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
बाढीले यस क्याम्पसका संरचनामा व्यापक क्षति पुर्याएपछि तीन सयभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ । अब नगरपालिका र क्याम्पस व्यवस्थापनसँगको सहकार्यमा एनसेल फाउन्डेसनले नियमित कक्षा संचालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पुर्वाधारमा सहयोग गर्नेछ । साथै, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर र फर्निचर लगायत सुविधाहरू पनि उपलब्ध गराउनेछ । यसबाट विद्यार्थीहरूलाई सहज अध्ययन वातावरण तयार हुने र उनीहरूको शिक्षामा थप अवरोध नआउने अपेक्षा गरिएको छ ।
“हाम्रो क्याम्पसको कक्षा संचालनका लागि अतिआवश्यक शैक्षिक पुर्वाधारहरु सहयोग गर्नुभएकोमा हामी एनसेल फाउन्डेसनप्रति धेरै आभारी छौं । यो सहकार्यलाई उच्च मूल्याङ्कन गर्दै हामी नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सँगै काम गर्न चाहन्छौं,” मेयर श्रेष्ठले भने ।
शिक्षा क्षेत्र एनसेल फाउन्डेसनको प्राथमिकता रहँदै आएको छ र यो पहलले समुदायसँग नजिक रहेर उनीहरूको आवश्यकताअनुसार काम गर्ने फाउन्डेसनको शैलीलाई पनि झल्काउँछ । “हामी बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध छौं । यस्ता कार्यका लागि प्रतिबद्धता मात्र पर्याप्त हुँदैन । प्रभावित स्थलमै गएर स्थानीय समुदाय र निकायहरूसँग हातेमालो गरेर काम गर्नुपर्छ । विदुर नगरपालिकासँगको यो सहकार्य हाम्रो पहलको सुरुवात मात्र हो । हामी स्थानीय साझेदारहरूसँग मिलेर अन्य विद्यालय तथा क्याम्पसहरुको पहिचान गरी सहयोग गर्नेछौं,” एनसेल फाउन्डेसनकी निर्देशक खड्काले भनिन् ।
एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड राहत सहयोग प्रदान गरेको थियो । यस पश्चात अब प्रभावित क्षेत्रमा सहयोगको आवश्यकता भएका विद्यालय तथा विद्यार्थीहरूको सहयोगका लागि स्थानिय पालिकसँगको प्रत्यक्ष सहकार्य तथा समन्वयमा समुदायको तल्लो स्तरसम्म पुगेर काम सुरु भएको छ ।
यसको कार्यान्वयन हाम्रो साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ । नगरपालिका र स्थानीय समुदायसँग मिलेर एनसेल फाउन्डेसन र कर्मयोग फाउन्डेसनले प्रभावित क्षेत्रमा आवश्यकता मूल्यांकन गर्नेछन् । यसबाट पठनपाठन पुनः सुरु गर्न र निरन्तरता दिन सहयोग आवश्यक रहेका अन्य विद्यालय तथा क्याम्पसहरू पहिचान गरिनेछ ।