
काठमाडौँ : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २०० अर्ब निक्षेप खिच्न लगेको छ ।
बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न लगातार पैसा खिचिरहेको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि एकैपटक अर्बौँ रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो २८ दिने निक्षेप संकलन उपकरणको आउँदो पुस ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यसअघि मंसिर १ मा पनि राष्ट्र बैंकले २ सय अर्ब निक्षेप खिचेको थियो ।