२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

जनकपुर–अयोध्या रेल र हवाई सेवा सुरु गर्न प्रधानमन्त्रीलाई निधिको आग्रह

Nada
२०८३ मंसिर ४ गते १२:३०
Shares
जनकपुर–अयोध्या रेल र हवाई सेवा सुरु गर्न प्रधानमन्त्रीलाई निधिको आग्रह

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जनकपुरधाम र भारतको अयोध्याबीच रेल तथा हवाई सेवा सञ्चालन गर्ने विषयलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

शुक्रबार जनकपुरधाममा आफ्नो धारणा सार्वजनिक गर्दै निधिले जनकपुर र अयोध्याबीच रहेको पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सेवामार्फत अझ बलियो बनाउनुपर्ने बताएका हुन् ।

उनका अनुसार जनकपुरस्थित जानकी मन्दिर र अयोध्याबीच ऐतिहासिक धार्मिक सम्बन्ध रहेकाले यी दुई सहरलाई रेल सेवाले जोड्नु आवश्यक छ । जनकपुर–अयोध्या रेल सेवा नियमित सञ्चालनका लागि प्रधानमन्त्रीको भारत भ्रमणमा ठोस पहल हुनुपर्ने उनको भनाइ छ ।

निधिले रेल सेवासँगै जनकपुर र अयोध्याबीच हवाई सेवा पनि सुरु गर्नुपर्नेमा जोड दिएका छन् । उनले बुद्ध एयर हवाई सेवा सञ्चालन गर्न इच्छुक रहेको उल्लेख गर्दै यस विषयमा भारतीय पक्षसँग छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

त्यस्तै, भारत भ्रमणका क्रममा सीमा व्यवस्थापन, यातायात, आर्थिक विकास र दुई देशबीचको आपसी सहकार्यलाई पनि प्राथमिकता दिनुपर्ने निधिको धारणा छ । प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल–भारत सम्बन्ध र पूर्वाधार विकासमा सकारात्मक प्रगति हुने विश्वास उनले व्यक्त गरेका छन् ।

यसैबीच, निधिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीबारे पनि जानकारी दिएका छन् । उनका अनुसार मंसिर २१, २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना हुँदैछ । महाधिवेशनको उद्घाटन टुँडिखेलमा र निर्वाचन राष्ट्रिय सभागृहमा गर्ने तयारी छ ।

उनले १६५ निर्वाचन क्षेत्रमध्ये १४४ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको र ७७ जिल्लामध्ये ५२ जिल्लामा जिल्ला अधिवेशन सकिएको जानकारी दिए । सातै प्रदेशको अधिवेशन पनि निर्धारित समयमै गर्ने तयारी रहेको उनले बताए ।

मधेश प्रदेशको अधिवेशन मंसिर १४ गते जनकपुरधाममा गर्ने तयारी रहेको छ । यसैको तयारीका लागि बर्दिबासमा मधेश प्रदेशका आठै जिल्लाका सभापति, ३२ क्षेत्रीय सभापति तथा केन्द्रीय पदाधिकारी र सदस्यहरूबीच बैठक बस्ने निधिले जानकारी दिए ।

उनले पार्टीको विधान, कानुन र परम्पराअनुसार सबै तहका अधिवेशन सम्पन्न गरेर महाधिवेशनमा सहभागी हुने बताएका छन् ।
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर