२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

Nada
२०८३ मंसिर ४ गते ०९:१०
Shares
सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिकाका तीनवटा वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र अवस्थामा छ ।

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, मुस्ताङमार्फत निर्माण भइरहेको उक्त पुल थासाङ गाउँपालिकाका वडा नं. २, ३ र ५ लाई जोड्ने गरी बनाउन लागिएको हो । पुल निर्माण सम्पन्न भएपछि बेनी–जोमसोम सडकसँगै कालीगण्डकी नदीपारिका धम्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत गाउँ ग्रामीण सडक सञ्जालसँग जोडिनेछन् ।

पुल निर्माणका लागि विसं २०७६ फागुन २९ गते देव एन्ड सायर कन्स्ट्रक्सनसँग पाँच करोड पाँच लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म पाँचपटक म्याद थप गरिए पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रविन चोख्यालका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२० (क) को उपनियम ३ बमोजिम पुल निर्माणको पछिल्लो म्याद चालु आर्थिक वर्षको असार मसान्तसम्म थप गरिएको छ । उनका अनुसार पुलको हालसम्म ७७ प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तीय प्रगति भएको छ ।

कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको लम्बाइ ३५ मिटर र फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर छ । ठेक्का पाएको निर्माण कम्पनीले सहायक निर्माण कम्पनी (पेटी ठेकेदार) मार्फत काम गराउँदै आएको छ । निर्माण कम्पनीलाई पटकपटक काम अघि बढाउन ताकेता गरिए पनि सहायक ठेकेदारका प्रतिनिधिको बेवास्ता र ढिलासुस्तीका कारण निर्माण रोकिएको प्रमुख चोख्यालले बताए ।

उनका अनुसार पुल निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालालाई सहभागी गराएर निर्माण सम्पन्न गर्ने प्रतिबद्धता सुनिश्चित गर्न बैठकको तयारी भइरहेको छ ।

पुलका दुवैतर्फका एबुटमेन्टको क्याप लेभलसम्मको काम सम्पन्न भइसकेको छ । अब स्ल्याब ढलान, एप्रोच सडक, पुलसँग सम्बन्धित अन्य संरचनात्मक काम, फिनिसिङ तथा सहायक काम पूरा गर्न बाँकी रहेको कार्यालय प्रमुख चोख्यालले जानकारी दिए । ती काम सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याएर हस्तान्तरण गरिनेछ ।

यसैबीच, कालीगण्डकी नदीपारिका गाउँलाई जोड्ने उद्देश्यले संघीय सरकारअन्तर्गत डिभिजन सडक कार्यालय, बागलुङमार्फत कालोपत्र सडक निर्माणको काम भने सम्पन्न भइसकेको छ ।

स्थानीय नवीन शेरचनले पुल निर्माणमा भइरहेको ढिलाइ दुर्भाग्यपूर्ण भएको बताए । निर्माण कम्पनीले तदारुकता देखाएको भए चार वर्षअघि नै पुल निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ ।

पुल निर्माण सम्पन्न भएमा थासाङ गाउँपालिकाका तीनवटा वडाका बासिन्दालाई मुख्य राजमार्गसम्म आवतजावत गर्न सहज हुनेछ । साथै, कृषि उपजको बजारीकरण, विकास निर्माणका काम र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर