२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

भारत आछिमगञ्जमा अन्तर्राष्ट्रिय सार्क साहित्य महासम्मेलन सम्पन्न

Nada
२०८३ मंसिर ५ गते २१:४१
Shares
भारत आछिमगञ्जमा अन्तर्राष्ट्रिय सार्क साहित्य महासम्मेलन सम्पन्न

आछिमगञ्ज : भारतको असम राज्यस्थित श्रीभूमि जिल्लाको ऐतिहासिक सहर आछिमगञ्जमा अन्तर्राष्ट्रिय सार्क साहित्य महासम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । नोभेम्बर १२ मा आयोजित उक्त महासम्मेलनमा नेपाल, बंगलादेश, हङकङलगायत भारतका विभिन्न राज्यबाट आएका ५०० भन्दा बढी कवि, साहित्यकार, अनुसन्धानकर्ता, पत्रकार, मानवअधिकारकर्मी तथा कलाकारहरूको सहभागिता रहेको थियो । 

भाषा, साहित्य, संस्कृति र मानवतालाई जोड्ने उद्देश्यले आयोजित सम्मेलनले विश्वभर शान्ति, सद्भाव, भाइचारा, धार्मिक सहिष्णुता तथा सामाजिक एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन बिहान १० बजे दीप प्रज्वलन गरी गरिएको थियो । उद्घाटन समारोहमा गुवाहाटीकी चर्चित कवयित्री काबेरी सिन्हासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा कोलकाताका कलाकारहरूले रवीन्द्र संगीत प्रस्तुत गरेका थिए ।

सम्मेलनको विशेष आकर्षणका रूपमा विभिन्न धर्मका धार्मिक ग्रन्थहरूको पाठ गरिएको थियो । बंगलादेशका शिक्षाविद् तथा कवि पुरुषेन रायले पवित्र कुरआनको पाठ गरेका थिए भने त्रिपुराका कवि कृपामोहन चक्रवर्तीले त्रिपिटक पाठ गरेका थिए । धार्मिक ग्रन्थहरूको सामूहिक प्रस्तुतिले धार्मिक सहिष्णुता, मानवता र आपसी एकताको सन्देश दिएको थियो ।

विश्व मानवधर्म विकास परिषद्का संस्थापक अध्यक्ष निहाररञ्जन देवनाथले सम्मेलनको उद्देश्यबारे प्रकाश पार्दै मानवता, नैतिक मूल्य र साम्प्रदायिक सद्भावमा आधारित समाज निर्माणमा साहित्य तथा संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा बंगलादेशका कवि तथा अनुसन्धानकर्ता पुरुषेन राय प्रमुख अतिथिका रूपमा सहभागी थिए भने हङकङका साहित्यकार मोहम्मद मुर्शिद–उज–जमाले प्रमुख वक्ताका रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

नेपाल–भारतको रोटीबेटी सम्बन्धलाई साहित्यिक मञ्चबाट जोड्ने प्रयास

सम्मेलनमा नेपालका  पत्रकार, मध्यान्ह कर्मी इसत्याक अहमदको सहभागिता पनि विशेष रूपमा रहेको थियो । आफ्नो मन्तव्य राख्दै अहमदले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धबारे चर्चा गरेका थिए ।

उनले नेपाल र भारतबीच रहेको रोटीबेटीको सम्बन्धलाई आपसी सद्भाव, विश्वास, व्यापारिक सहकार्य र पारस्परिक सहयोगमार्फत अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत सहकार्य, मित्रता र सद्भाव कायम राख्न यस्ता साहित्यिक तथा सांस्कृतिक सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ थियो ।

अहमदले साहित्यले देशको सीमाभन्दा माथि उठेर मानिसहरूलाई जोड्ने काम गर्ने उल्लेख गर्दै नेपाल र भारतबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन साहित्य, संस्कृति र संवादलाई माध्यम बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सम्मेलनमा सहभागी वक्ताहरूले पनि साहित्यले मानव सोच, सिर्जनात्मक क्षमता, नैतिक मूल्य तथा मानवीय चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए ।

कविहरूको जुलुस र साहित्यिक सम्मान

सम्मेलनका क्रममा कविहरूको आकर्षक जुलुससमेत निकालिएको थियो । दिनभर विभिन्न भाषामा कविता वाचन, साहित्यिक छलफल तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन भएका थिए ।

यस अवसरमा अतिथिहरूलाई असमको परम्परागत झाँपी, उत्तरिया, सराय, क्रेस्ट, शाल तथा स्वर्ण पदक प्रदान गरी सम्मान गरिएको थियो । साथै परिषद्का संस्थापक अध्यक्ष निहाररञ्जन देवनाथको सातौँ काव्यकृति ‘ए कौन महाराज’ को औपचारिक विमोचनसमेत गरिएको थियो ।

सम्मेलनको दोस्रो सत्रमा कोलकाताका समाजसेवी तथा कवि जयन्त नाथ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने कवि तथा अनुसन्धानकर्ता डा.सहदेव देलुईले प्रमुख वक्ताका रूपमा आफ्ना विचार राखेका थिए । परिषद्का केन्द्रीय महासचिव विश्वरूप दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

विविध सांस्कृतिक प्रस्तुतिसहित सम्मेलन सम्पन्न

साँझ ६ बजेदेखि सुरु भएको सांस्कृतिक कार्यक्रममा कोलकाताकी लिपिका गुहा ठाकुरता, दीपंकर पोद्दार, अगरतलाकी रेखा देबदास, गुवाहाटीका रेणु दास तथा स्वप्ना कलितालगायत विभिन्न क्षेत्रका कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।

बिहान १० बजेदेखि सुरु भएको महासम्मेलन राति करिब ९ बजेसम्म सञ्चालन भएको थियो । 

भाषा, धर्म, संस्कृति र भौगोलिक सीमाभन्दा माथि उठेर विभिन्न देशका साहित्यकार तथा साहित्यप्रेमीहरूलाई एउटै साझा मञ्चमा जोड्न सफल यस अन्तर्राष्ट्रिय महासम्मेलनले आछिमगञ्जको साहित्यिक तथा सांस्कृतिक इतिहासमा महत्वपूर्ण स्थान बनाएको छ । साथै नेपाल, भारत, बंगलादेश र हङकङबीच साहित्यिक, सांस्कृतिक तथा मानवीय सम्बन्ध विस्तारका लागि समेत सम्मेलनले सकारात्मक सन्देश दिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर