२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

मौलापुरमा निःशुल्क आँखा शिविर सम्पन्न, ३२६ जना लाभान्वित

७६ जनामा मोतियाबिन्दु पहिचान

Nada
२०८३ मंसिर ४ गते १८:२६
Shares
मौलापुरमा निःशुल्क आँखा शिविर सम्पन्न, ३२६ जना लाभान्वित

रौतहट : नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पतालले मौलापुर नगरपालिकामा बृहत् निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । अस्पतालको महाअभियानअन्तर्गत शुक्रबार मौलापुर नगरपालिका–५ स्थित रिलायन्स पब्लिक बोर्डिङ स्कुलमा आयोजित शिविरबाट ३२६ जना महिला तथा पुरुष लाभान्वित भएका छन् ।

शिविरमा आँखा परीक्षण गराएका सेवाग्राहीमध्ये ७६ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ। उनीहरूलाई शल्यक्रियाका लागि छनोट गरिएको अस्पतालले जनाएको छ । त्यस्तै, परीक्षण तथा परामर्शपछि १८९ जना सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

गौर आँखा अस्पतालका अनुसार स्थानीय युवा समाजसेवी रामलखन पटेलको विशेष पहल तथा तिलगंगा (रुइट) फाउन्डेसनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा रोग विशेषज्ञ तथा स्वास्थ्यकर्मीको टोलीले सेवाग्राहीको आँखा परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो ।

सुयोग्य मगर र अमित दासको नेतृत्वमा उषा चौधरी, जितेन्द्र यादव, अंकिता साह र गौरीशंकर राउतसहित ११ सदस्यीय स्वास्थ्यकर्मीको टोली उपचार सेवामा खटिएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार शिविरबारे स्थानीय स्तरमा व्यापक प्रचारप्रसार गर्नेदेखि उपचार सेवाको पहुँचबाट टाढा रहेका बिरामीलाई घरबाटै शिविरस्थलसम्म ल्याउने र उपचारपछि पुनः घरसम्म पुर्‍याउने यातायातको व्यवस्थासमेत युवा समाजसेवी पटेलले मिलाएका थिए ।

शिविरको सेवा प्रभावकारिता तथा गुणस्तर सुनिश्चित गर्न नेपाल नेत्रज्योति संघ रौतहटका अध्यक्ष विजयकुमार सिंह, सचिव, सदस्य बच्चाबाबु यादव तथा वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपानेले शिविरस्थलको अनुगमन तथा निरीक्षण गरेका कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।

गौर आँखा अस्पतालले आफ्नो महाअभियानलाई निरन्तरता दिँदै आगामी मंसिर ११ गते शुक्रबार गौर नगरपालिकाको सिर्सियामा अर्को बृहत् निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्ने तयारी गरेको कार्यक्रम संयोजक पाण्डेले बताए ।

सिर्सिया शिविरका स्थानीय आयोजक एवं सामाजिक अभियन्ता विजय श्रीवास्तवले यस अभियानलाई वर्षकै उत्कृष्ट तथा नमुना सामाजिक सेवामूलक अभियानका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।

आर्थिक अभाव तथा अन्य विविध कारणले आँखाको उपचार सेवाबाट वञ्चित ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले स्थानीय बासिन्दालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको सरोकारवालाहरूको भनाइ छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर