२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीका पाँच र लुम्बिनीका दुई जिल्लामा खेल हुने, सुर्खेतमा मात्रै २३ खेल

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गतका खेलहरू कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई गरी कुल सात जिल्लामा सञ्चालन हुने भएका छन् ।

Nada
२०८३ मंसिर ४ गते १८:३६
Shares
दशौँ राष्ट्रिय खेलकुद : कर्णालीका पाँच र लुम्बिनीका दुई जिल्लामा खेल हुने, सुर्खेतमा मात्रै २३ खेल

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीका पाँच र लुम्बिनीका दुई जिल्लामा खेल हुने, सुर्खेतमा मात्रै २३ खेल
काठमाडौँ : कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गतका खेलहरू कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई गरी कुल सात जिल्लामा सञ्चालन हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन् ।

राखेपका अनुसार बाँकी नौ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा सञ्चालन गरिनेछन् ।

कुन जिल्लामा कति खेल ?
सुर्खेत (२३ खेल)
: प्रतियोगिताको मुख्य केन्द्र सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स र सेपाकताक्रो गरी २३ खेल सञ्चालन हुनेछन्। यी खेलहरू सुर्खेतको मुख्य रंगशाला, कभर्डहल, नेपाली सेनाको खेल मैदान, काँक्रेविहार, छिन्चु लगायतका स्थानमा आयोजना गरिनेछन्।

नेपालगञ्ज (२ खेल) : उपलब्ध खेल पूर्वाधारलाई ध्यानमा राख्दै बाँकेको नेपालगञ्जमा पौडी र सुटिङका प्रतिस्पर्धा सञ्चालन गरिनेछन् ।

बर्दिया (२ खेल) : बर्दियामा टेनिस र खो–खोका खेल आयोजना हुनेछन्। खो–खो प्रतियोगिता मुरीघाटमा सञ्चालन गरिनेछ ।

सल्यान (२ खेल) : सल्यानको श्रीनगरस्थित कभर्डहलमा कुस्ती र जुडोका खेल सञ्चालन हुने तालिका छ ।

दैलेख (१ खेल) : दैलेखको नारायण कभर्डहलमा आईटीएफ तेक्वान्दोको प्रतिस्पर्धा हुनेछ ।

कालीकोट (१ खेल) : कालीकोट कभर्डहलमा बुद्धिचाल (चेस) प्रतियोगिता आयोजना गरिनेछ ।

पश्चिम रुकुम (१ खेल) : पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन (बडीबिल्डिङ) प्रतियोगिता सञ्चालन हुनेछ ।

यद्यपि, प्राविधिक कारणले आवश्यक परेमा खेलस्थल परिवर्तन हुन सक्ने राखेपले जनाएको छ ।

उद्घाटनअघि नै १० खेल सुरु हुने
आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन हुने तय भएको छ। प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ ।

यद्यपि, औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअघि अर्थात् मंसिर ८ गतेदेखि नै भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिसलगायत १० खेलका प्रतिस्पर्धा सुरु हुनेछन् ।

सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोलीको सहभागिता रहने प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस संस्करणदेखि पहिलोपटक रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर