
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सबल र सक्षम बनाउन सके विकास निर्माणले तीव्रता पाउने बताएका छन् ।
आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहलाई बलियो बनाउने काम एमालेले नै सुरु गरेको दाबी गरे ।
‘स्थानीय तहको सवलीकरणको कुरा गर्दा एमालेको २०५१ सालको सरकारलाई भुल्नु हुँदैन’, उनले भने, ‘त्यतिबेला जनश्रमदानमार्फत गाउँगाउँमा सडक र नहर निर्माण गर्ने कामको सुरुवात एमालेले नै गरेको हो ।’
अध्यक्ष ओलीले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदा देशलाई कुनै नोक्सानी नहुने बताए । उनले स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार प्रदान गर्नुपर्नेमा जोड दिए ।
‘सक्षम स्थानीय तहबाटै जनताले संघीयताको अनुभूति गर्न पाउँछन्’, उनले भने ।
राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू सबै गाउँमा पुग्न सम्भव नहुने उल्लेख गर्दै ओलीले राज्यको प्रतिनिधिका रूपमा स्थानीय जनप्रतिनिधिहरू जनताको घरदैलोसम्म पुग्नुपर्ने बताए । भेलामा अध्यक्ष ओलीको सम्बोधन जारी रहेको छ ।