
दोहा, कतार : कतारको चिसिँदो साँझ, दर्शकको घण्टौँ लामो प्रतीक्षा र नेपाली साङ्गीतिक माहौल । शुक्रवार अल वकिरस्थित डीपीएस मोनार्क स्कुलको मञ्चमा नब्बेको दशकको चर्चित लेकाली ब्यान्ड उक्लिएसँगै दर्शकको उत्साह उत्कर्षमा पुग्यो । ब्यान्डका मुख्य गायक नवीन गुरुङको आवाजसँगै हलमा गुन्जिएको हुटिङ, ताली र दर्शकको गायनले कतारको नेपाली सांगीतिक साँझलाई अविस्मरणीय बनायो ।

गण्डकी प्रदेश समन्वय परिषद् कतार तथा परिषद् मातहतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा श्रमिक कल्याणकारी कोष स्थापनार्थ आयोजित ‘शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम–२०२६’ मा सांगीतिक प्रस्तुति दिन लेकाली ब्यान्ड साँझ करिब ५ बजे मञ्चमा उक्लिएको थियो । लामो प्रतीक्षापछि मञ्चमा देखिएको ब्यान्डलाई दर्शकले उत्साहपूर्ण स्वागत गरेका थिए ।

मञ्चमा उक्लिए लगत्तै मुख्य गायक नवीन गुरुङले दर्शकलाई सम्बोधन गर्दै दसैँ, तिहार, छठलगायत सम्पूर्ण चाडपर्वको शुभकामना व्यक्त गरे । त्यसपछि सुरु भएको ब्यान्डको सांगीतिक प्रस्तुतिले करिब डेढ घण्टासम्म दर्शकलाई मन्त्रमुग्ध बनायो । आफ्ना चर्चित गीत ‘यो मुटुमा’ लगायत एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरेको ब्यान्डले दर्शकलाई गीतसँगै गाउन, नाच्न र रमाउन बाध्य बनायो ।
नब्बेको दशकमा नेपाली संगीतप्रेमीको मन जितेको ब्यान्डलाई प्रत्यक्ष देख्न पाउँदा कतारमा रहेका नेपाली दर्शक निकै उत्साहित देखिए । ब्यान्डका गीतसँगै दर्शकले स्वर मिलाए, नाचे र हुटिङ गर्दै कलाकारलाई हौसला प्रदान गरे । हलभरि खचाखच दर्शकको उपस्थितिमा ब्यान्डको प्रस्तुति थप ऊर्जावान् बनेको थियो । कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रतिनिधि, आमन्त्रित पाहुना तथा आयोजकसमेत ब्यान्डको संगीतमा झुमेका थिए ।

कार्यक्रममा लेकाली ब्यान्डको प्रस्तुतिसँगै कतारमा नेपाली मौलिकता र सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने अन्य प्रस्तुति पनि समेटिएका थिए । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरूले आ–आफ्नो मौलिक सांस्कृतिक प्रस्तुति दिएका थिए ।
परिषद् मातहतका जिल्ला संस्थाहरूबाट सहभागी कलाकारले थाली नाच, युगल नृत्य, लोकगीत तथा विभिन्न साङ्गीतिक प्रस्तुति पस्किएका थिए । कतारको एउटै मञ्चमा सातै प्रदेशको संस्कृति, कला र मौलिकता प्रस्तुत हुँदा कार्यक्रम सिङ्गो नेपाल झल्काउने सांस्कृतिक उत्सव बनेको थियो । गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नन्दलाल विक (अजय) को सभाध्यक्षता तथा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष एवं कतारका व्यवसायी तथा समाजसेवी राजेन्द्रकुमार शर्मा (आरके) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संयोजक तथा परिषद्का वरिष्ठ उपाध्यक्ष रोशन अर्यालले स्वागत मन्तव्य राखेका थिए भने परिषद्का महासचिव मनप्रसाद राना मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले श्रमिकको हितका लागि स्थापना गर्न लागिएको कल्याणकारी कोष महत्त्वपूर्ण पहल भएको बताउँदै अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कतारमा स्थापित नेपाली सङ्घसंस्थाको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले श्रमिकमुखी उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमको प्रशंसा गर्दै सबैलाई सहयोग गर्न आह्वान गरे ।

कार्यक्रममा सांगीतिक प्रस्तुति दिने सम्पूर्ण कलाकारलाई नगद पारिश्रमिकसहित सम्मानपत्र प्रदान गरिएको थियो । लेकाली ब्यान्डका कलाकारहरूको हातबाट उनीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमको मुख्य प्रायोजन भिक्टोरिया गोल्ड एन्ड डायमन्डले गरेको थियो । न्यून औपचारिक मन्तव्य र विविध सांस्कृतिक प्रस्तुतिका कारण कार्यक्रम मनोरञ्जनपूर्ण बनेको थियो । लेकाली ब्यान्डको प्रस्तुतिसँगै सातै प्रदेशको मौलिक संस्कृति एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रम कतारको नेपाली समुदायका लागि साङ्गीतिक तथा सांस्कृतिक एकताको उत्सवका रूपमा रहेको थियो ।





