२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

दाङ देउखुरी सेवा समाज कतारको तिहार विशेष देउसी भैलो कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक २९ गते २१:४९
Shares
दाङ देउखुरी सेवा समाज कतारको तिहार विशेष देउसी भैलो कार्यक्रम सम्पन्न

दोहा, कतार : कतारमा रहेका दाङवासीहरूको साझा संस्था दाङ देउखुरी सेवा समाज कतारले तिहारको अवसरमा देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्लाजा मलस्थित सिलौटो रेस्टुरेन्टमा आयोजित कार्यक्रम समाजका अध्यक्ष मनीषा खड्काको सभाध्यक्षता तथा समाजका संरक्षक संयोजक वसन्तराज पुरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कतारमा रहेका दाङवासीहरूलाई नेपाली मौलिक संस्कृति र परम्परासँग जोड्दै आपसी सद्भाव तथा भाइचारालाई प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा दाङमा प्रचलित मौलिक देउसिरेसँगै सोरठी र झ्याउरे भाकामा प्रस्तुत सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण बनेको थियो । 

समाजकी सांस्कृतिक संयोजक रेश्मी सेन्चुरीसहित विजय भट्टराई, काशीराम केसी, सुमित्रा खड्का र कमला गुरुङलगायतका कलाकारले मौलिक भाकामा गीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । प्रवासमा रहेर पनि दाङको मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने प्रयासले कार्यक्रममा छुट्टै रौनक थपेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुरीले समाजले नेपालको राष्ट्रिय पर्व तथा विभिन्न सांस्कृतिक चाडपर्वहरू प्रवासमा पनि सामूहिक रूपमा मनाउँदै आएको उल्लेख गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष खड्काले प्रवासमा रहेर पनि कलाकारहरूको मौलिक प्रस्तुति र लुम्बिनी प्रदेशवासी तथा दँगालीहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई हर्षोल्लासपूर्ण बनाएको बताए । उनले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

लुम्बिनी प्रदेश समन्वय परिषद् कतारमा आबद्ध विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक अभियन्ता, समाजसेवी र कलाकारहरूको उपस्थिति रहेको कार्यक्रमलाई कार्यवाहक महासचिव सुरत शाहीले सहजीकरण गरेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर