
रौतहट : छठ पर्वका अवसरमा श्रद्धालुहरूको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि रौतहटको गौरस्थित ऐतिहासिक बरहवा तालमा सशस्त्र प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।
छठ पर्वमा हजारौँ व्रतालु तथा श्रद्धालुको भीड लाग्ने भएकाले पानीमा डुबेर हुन सक्ने दुर्घटना तथा अन्य जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणले उद्धार टोली, स्वास्थ्य सेवा र राफ्ट बोटसहितको सुरक्षा प्रबन्ध गरेको हो ।
ताल परिसरमा उद्धार तथा रेस्क्यु डेस्क स्थापना गरी दक्ष गोताखोरसहितको टोली परिचालन गरिएको छ । आपत्कालीन अवस्था आइपरे तत्काल उद्धार गर्न सक्ने गरी सुरक्षाकर्मी र राफ्ट बोट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुरक्षासँगै श्रद्धालुहरूको स्वास्थ्यलाई ध्यानमा राखेर ताल परिसरमै अस्थायी हेल्थ डेस्कसमेत सञ्चालन गरिएको छ । गौर भन्सार गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा भट्टका अनुसार हेल्थ डेस्कबाट हालसम्म २५० भन्दा बढी व्रतालु तथा श्रद्धालुले स्वास्थ्य परीक्षण र आवश्यक औषधिसहितको सेवा लिइसकेका छन् ।
विशेषगरी भीडभाडका कारण देखिन सक्ने सामान्य स्वास्थ्य समस्या, अशक्त तथा वृद्धवृद्धालाई लक्षित गरी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलको केन्द्रीय नीति तथा महोत्तरीस्थित बाहिनी मुख्यालयका बाहिनीपति प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टको निर्देशनअनुसार सुरक्षा व्यवस्था मिलाइएको हो । गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा सुरक्षाकर्मीहरू छठघाटमा खटिएका छन् ।
छठ पर्वका क्रममा श्रद्धालुको ठूलो उपस्थिति रहने बरहवा तालमा सुरक्षा, उद्धार र स्वास्थ्य सेवाको व्यवस्था भएपछि पर्व मनाउन आउनेहरूलाई सहज भएको स्थानीयवासीले बताएका छन् । नागरिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीले गरेको सक्रियताको स्थानीयले प्रशंसा गरेका छन् ।
