
काठमाडौं : लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ पुस्तक विमोचन गरिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक समेत रहेका अधिकारीको कर्मवादलाई आधुनिक जीवन, राजनीति र राष्ट्रनिर्माणसँग जोड्ने पुस्तक ‘कर्मवाद : चिन्तन र अभ्यास’ पुस्तक आइतवार विमोचन गरिएको हो ।
विमोचन कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कांग्रेस नेता अर्जुननरसिंह केसी, नेकपा (एमाले)का नेता रामेश्वर फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री सत्या अधिकारी, पूर्वसचिव कृष्णहरि बाँस्कोटा, राससका महाप्रबन्धक सन्दिप राई, कर्मवादका अभियान्ता मणिराम डंगोललगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रममा लेखक अधिकारीले कर्म, नैतिकता, जिम्मेवारी, पुरुषार्थ र सामाजिक उत्तरदायित्वलाई आधुनिक जीवन तथा राष्ट्रनिर्माणसँग जोडेर विश्लेषण गरिएको पुस्तक ‘कर्मवाद : चिन्तन र अभ्यास’ पाठकमाझ ल्याएको बताए ।
पुस्तकले कर्मवादलाई केवल प्राचीन धार्मिक विश्वास वा दार्शनिक मान्यतामा सीमित नराखी आधुनिक जीवन र सामाजिक व्यवहारसँग जोडेर व्याख्या गर्ने प्रयास गरेको उल्लेख गर्दै लेखक अधिकारीले विज्ञान, प्रविधि, लोकतन्त्र, मानव अधिकार, विश्वव्यापीकरण र आधुनिक मनोविज्ञानले मानिसको जीवनशैली तथा सोचमा ल्याएको परिवर्तनलाई समेत कर्मवादको दृष्टिकोणबाट विश्लेषण गरिएको बताए ।
‘आधुनिक मनोविज्ञानले मानिसको व्यवहार र त्यसका परिणामलाई कारण–परिणाम, सोच, बानी, प्रेरणा तथा सामाजिक वातावरणसँग जोडेर अध्ययन गर्ने विषयलाई पुस्तकमा उल्लेख गरिएको छ’, लेखक अधिकारीले भने, ‘पुस्तकले भाग्यवाद र पुरुषार्थबीचको बहसलाई पनि महत्वपूर्ण रूपमा उठाएको छ र समाजमा गरिबी, असमानता, कठिन परिस्थिति र असफलतालाई पूर्वजन्मको कर्मको परिणामका रूपमा स्वीकार गर्ने प्रवृत्तिले सामाजिक अन्यायविरुद्धको संघर्ष कमजोर बनाउन सक्ने विषयप्रति पुस्तकले सचेत गराएको छ ।’
कर्मवाद र राजनीतिबीचको सम्बन्धलाई पुस्तकको महत्वपूर्ण विषयका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै लेखक अधिकारीले राजनीतिक नेतृत्व र राज्यका संस्थाले गर्ने कर्मले लाखौं नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सुशासन, भ्रष्टाचार नियन्त्रण, जनसेवा, लोकतान्त्रिक संस्कार, नैतिक नेतृत्व र सार्वजनिक उत्तरदायित्वमा कर्मवादी मूल्यहरूको महत्वपूर्ण भूमिका हुन सक्ने बताए ।
पुस्तकको समीक्षा गर्दै साहित्यकार एवम् पर्यटन विज्ञ डा चेतनाथ कँडेलले श्रीमद्भगवद्गीतामा उल्लेखित कर्मप्रतिको निष्ठा र फलप्रतिको आशक्तिबाट मुक्त रहने मान्यतालाई आधार बनाउँदै पुस्तकले मानिसलाई आफ्नो कर्तव्य र जिम्मेवारीप्रति इमानदार हुन प्रेरित गरेको बताए ।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कुल १४८ पृष्ठ र १२ वटा खण्डमा विभाजित उक्त पुस्तकमा कर्मवादका धार्मिक, दार्शनिक, सामाजिक, राजनीतिक तथा व्यावहारिक पक्षलाई समेटिएको छ ।
पुस्तकमा कर्मको परिचय, सिद्धान्त र विकासक्रमदेखि हिन्दू, बौद्ध, जैनलगायत विभिन्न धार्मिक सम्प्रदायमा कर्मसम्बन्धी मान्यता र विभिन्न दार्शनिक तथा विद्वान्हरूका विचार समावेश गरिएको छ ।
