२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

सांस्कृतिक एकताको प्रतीक बन्दै छठ पर्व

Nada
शहबाज खान
२०८३ कार्तिक २९ गते २१:२२
Shares
सांस्कृतिक एकताको प्रतीक बन्दै छठ पर्व

कपिलवस्तु : मैथिली, अवधी, भोजपुरीदेखि पहाडी समुदायसम्मलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्दै आएको छठ पर्व पछिल्ला वर्षहरूमा नेपालको साझा र समावेशी पर्वका रूपमा विस्तार हुँदै गएको छ । कुनै समय पूर्वी तराईका सीमित जिल्लामा केन्द्रित रहेको यो पर्व अहिले राजधानी, पहाडी जिल्ला तथा पश्चिम तराईसहित देशका अधिकांश क्षेत्रमा विभिन्न जातजाति र समुदायले श्रद्धापूर्वक मनाउन थालेका छन् ।

सिरहा, सप्तरी, पर्सा लगायत मधेसका जिल्लाबाट व्यापक रूपमा परिचित बनेको छठ पर्व अहिले भौगोलिक र सामुदायिक सीमाभन्दा माथि उठ्दै धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक सहअस्तित्वको पर्वका रूपमा स्थापित हुँदै गएको छ ।

कपिलवस्तुसहित देशका विभिन्न जिल्लामा छठ पर्व उत्साह र श्रद्धाका साथ मनाइएको छ । पर्वअन्तर्गत श्रद्धालुहरूले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न हुनेछ ।

No description available.

कपिलवस्तुका तौलिहवा, बहादुरगञ्ज, महाराजगञ्जलगायत विभिन्न स्थानका नदी, नहर, पोखरी र जलाशयलाई विशेष रूपमा सजाइएको छ। व्रतालु महिला तथा पुरुषहरू पवित्र जलाशयमा उभिएर सूर्य देवताको आराधना गर्दै अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ ।

पूजाका क्रममा बाँसबाट निर्मित डाला, सुप तथा अन्य परम्परागत सामग्रीमा केरा, स्याउ, ठेकुवा, भुस्वा, लड्डु तथा विभिन्न फलफूल र प्रसाद सजाएर सूर्य देवतालाई अर्पण गर्ने गरिन्छ । छठ पूजामा स्वच्छता, शुद्धता र अनुशासनलाई विशेष महत्व दिइने भएकाले जलाशय तथा आसपासका क्षेत्रको सरसफाइमा पनि स्थानीयवासी सक्रिय देखिएका छन् ।

कृष्णनगर नगरपालिका–१ स्थित पोखरीमा समेत छठ पूजा धूमधामका साथ मनाइएको छ । छठ पर्वलाई व्यवस्थित र आकर्षक बनाउन एक साताअघिदेखि पोखरी तथा आसपासको क्षेत्रको निरन्तर सरसफाइ र व्यवस्थापन गरिएको थियो ।

No description available.

व्यवस्थापन तथा तयारीको अनुगमनमा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह तथा छठघाट व्यवस्थापन समितिका पदाधिकारी धिरेन्द्र विक्रम सिंह, विनय शर्मा, अजय गोयल र रामेश्वर गुप्ता ‘टिल्लु चाचा’ लगायत निरन्तर खटिएका थिए ।

छठघाटमा श्रद्धालुहरूको सुरक्षा र सहजताका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो । स्थानीय तह, व्यवस्थापन समिति र सुरक्षाकर्मीको समन्वयमा छठघाटलाई व्यवस्थित बनाइएको आयोजकहरूले बताएका छन् ।

भाषा, भूगोल र समुदायका विविधतालाई जोड्दै अघि बढिरहेको छठ पर्वले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई थप मजबुत बनाउँदै लगेको सरोकारवालाहरूको भनाइ छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर