
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा आफ्ना छोरा सम्पर्कविहीन भएको पीडादायी विषयमा जानकारी गराउन तथा सहयोगको अपेक्षासहित फोन गर्दा भएको भनिएको व्यवहारले नेपाल प्रहरी संगठनभित्रको संवाद संस्कृति र मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ ।
आफ्नो नाम र पद परिचय गराउनेबित्तिकै सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारीले समस्या सुन्नुको सट्टा अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै धम्कीसम्म दिएको भनिएको फोन संवाद अहिले चर्चाको विषय बनेको छ ।
भाइरल भएको भनिएको संवादअनुसार छोरा सम्पर्कविहीन भएपछि चिन्ता र पीडामा रहेका प्रहरी हवल्दार सुरेश यादवले सहयोगको अपेक्षासहित जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा सम्पर्क गरेका थिए । तर, सञ्चार शाखामा कार्यरत हवल्दार बुद्धराम महतोसँग दर्जा, परिचय र सम्बोधनको विषयलाई लिएर भएको भनिएको संवादले आपत्कालीन तथा संवेदनशील अवस्थामा अपनाउनुपर्ने शिष्टता र सहानुभूतिको अभावलाई उजागर गरेको छ ।
आफ्नै संगठनमा कार्यरत सहकर्मीलाई संकट र पीडा पर्दा सहयोग, सद्भाव र धैर्यको अपेक्षा हुनु स्वाभाविक हो । तर, संवादको सुरुवातमै समस्याको गम्भीरता बुझ्नुको सट्टा परिचय र दर्जालाई लिएर विवाद हुनु संगठनको आन्तरिक कार्यसंस्कृति तथा व्यावसायिक मर्यादाका दृष्टिले दुःखद विषय हो ।
सामान्य शिष्टाचारअनुसार फोन उठाउने व्यक्तिले ‘जय नेपाल सर, म फलानो बोल्दैछु, हजुर को बोल्नुभयो ?’ जस्ता मर्यादित र नम्र शब्दबाट संवाद अघि बढाउन सक्थे । पीडामा परेको व्यक्तिमाथि दर्जा वा कडाइ देखाउँदैमा समस्या समाधान हुँदैन, बरु उसको पीडा अझ गहिरिन सक्छ ।
नेपाल प्रहरी संगठनमा चेन अफ कमान्ड, पद र दर्जाको आफ्नै महत्त्वपूर्ण स्थान हुन्छ । संगठनको सुव्यवस्था र अनुशासन कायम राख्न दर्जागत मर्यादा आवश्यक भए पनि त्यसभन्दा माथि मानवीय संवेदना, शिष्ट व्यवहार र सेवाभाव रहनुपर्छ । नागरिक तथा सहकर्मीको सुरक्षा र सहयोगका लागि खटिने प्रहरीबाट संवेदनशील अवस्थामा रूखो वा अपमानजनक व्यवहार हुनु संगठनको छवि र जनविश्वाससँग जोडिएको विषय हो ।
कार्यालय प्रमुख वा उच्च अधिकारीसँग निकटता अथवा पहुँच हुँदैमा आफूलाई अरूभन्दा ठूलो वा विशेष ठान्ने प्रवृत्तिले संगठनभित्र असमानता र अहंकारको सन्देश प्रवाह गर्छ । यस्तो व्यवहारले सेवाग्राही तथा सहकर्मी दुवैमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले नेतृत्व तहबाटै प्रहरी कर्मचारीको व्यवहार सुधार, संवाद संस्कृतिको विकास र नियमित अनुगमनमा ध्यान दिन आवश्यक देखिन्छ ।
प्रहरीको वास्तविक उचाइ र सम्मान काँधमा लागेको फुली, पद वा दर्जाको धाकले होइन, व्यवहार, जिम्मेवारीबोध, इमानदारी, धैर्य र मानवीय संवेदनाले निर्धारण गर्छ । संकटको घडीमा सहानुभूति र शिष्टता नै सबैभन्दा ठूलो बल हो।
त्यसैले दर्जा ठूलो भएर होइन, मर्यादित र मानवीय व्यवहार गरेर सम्मानित बन्नु आजको आवश्यकता हो । प्रहरी संगठनभित्र अनुशासनसँगै सहानुभूति र सेवाभावलाई पनि उत्तिकै महत्त्व दिन सके मात्रै संगठनप्रतिको विश्वास र सम्मान अझ बलियो बन्न सक्छ ।
