२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका र टेकेन्द्रलाई

Nada
२०८३ मंसिर ५ गते १४:०९
Shares
तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका र टेकेन्द्रलाई

बाँके : तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डांगीले जितेका छन् । बाँकेको राप्तीसोनारीस्थित मदुवामा शनिबार भएको दौडमा स्वस्तिकाले १० किलोमिटर खुला महिलातर्फ र टेकेन्द्रले खुला पुरुषतर्फको उपाधि जितेका हुन् ।

१० किलोमिटर खुला महिलातर्फ स्वस्तिका प्रथम हुँदा रीता कुसारी दोस्रो र नन्दिता थारू तेस्रो भए । खुला पुरुषतर्फ टेकेन्द्र पहिलो, निराजन चौधरी दोस्रो र प्रशान्त तामाङ तेस्रो भए ।

राप्तीसोनारी गाउँपालिकाअन्तर्गत विद्यालयस्तरीय छात्रतर्फ भविन्द्र बोहरा, समिर थारू र विशाल यादव क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । छात्रातर्फ तीन किलोमिटर दौडमा रेणुका चौधरी प्रथम, अनुजा थारू दोस्रो र निस्मा थारू तेस्रो भए ।

तीन सयभन्दा बढी धावक सहभागी दौडका सबै विधामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित पदक प्रदान गरिएको थियो ।

जर्मनीमा बसोबास गर्दै आएका मदुवानिवासी पूर्वराष्ट्रिय खेलाडी तीर्थ ओलीको पहलमा धारा नेपालगन्ज म्याराथनको भगिनी दौडका रूपमा राप्तीसोनारी नेचर रन हरेक वर्ष आयोजना हुँदै आएको छ । यस दौडका शीर्ष १० धावकलाई मंसिर १२ गते हुने धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणमा स्वतः सहभागी गराइने रेस डाइरेक्टर चन्द्र गुरुङले जानकारी दिए ।

एक किलोमिटर वाकाथनमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा थारू, पूर्वप्रदेशसभा सदस्य कृष्णा केसी नमुनालगायत करिब सय जनाले सहभागिता जनाएका थिए ।

दौडको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले तेस्रो संस्करणदेखि गाउँपालिका र वडा नं. २ ले समेत कार्यक्रमको अपनत्व लिएको बताए । उनले यसले दौडलाई निरन्तरता दिने आधार तयार भएको पनि उल्लेख गरे ।

लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कृष्णा केसी, वडाध्यक्ष ज्ञानेन्द्र ओली र धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलगायतले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर