२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

एनपिएल फाइनल : उपाधि जोगाउने कि इतिहास रच्ने ?

साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम रोयल्स पहिलो उपाधिको खोजीमा छ ।

Nada
उषा बस्नेत
२०८३ मंसिर ५ गते ०८:३९
Shares
एनपिएल फाइनल : उपाधि जोगाउने कि इतिहास रच्ने ?

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने फाइनलमा लुम्बिनी लगातार दोस्रोपटक उपाधि जोगाउने लक्ष्यमा छ भने लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ ।

यस सिजनको प्रदर्शन र अघिल्ला दुई भेटका आधारमा लुम्बिनी केही बलियो देखिन्छ । उसले लिग चरण र पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गरेको थियो । तर, फाइनलको दबाब र एक खेलले नतिजा बदल्न सक्ने क्रिकेटको प्रकृतिका कारण सुदूरपश्चिमलाई कमजोर आक्न मिल्दैन ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल पनि अघिल्ला खेलको नतिजाले फाइनलमा अर्थ नराख्ने बताउँछन् । ‘पक्कै पनि हामीले अघिल्ला तीन खेलमा सुदूरलाई जितेका छौं, तर त्योभन्दा अगाडिका दुई खेल उहाँहरूले पनि जित्नुभएको छ,’ उनले भने, ‘क्रिकेट हो, जे पनि हुन सक्छ । पास्टको गेममा के भयो त्यसले केही पनि अर्थ राख्दैन, जित्नका लागि खेल राम्रो खेल्नुपर्छ ।’ 

सन्तुलित लुम्बिनी
लिग चरणमा सात खेलबाट पाँच जित निकाल्दै शीर्ष स्थानमा रहेको लुम्बिनी यसपटक पनि उपाधिको बलियो दाबेदारका रूपमा देखिएको छ । ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको टोलीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

लुम्बिनीको ब्याटिङमा श्रीलंकाली खेलाडी निरोशन डिकवेला मुख्य भरोसा हुन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध ३७ बलमा अविजित ५९ रन बनाएका उनले टोलीलाई सहज जित दिलाएका थिए । आक्रामक ब्याटिङसँगै इनिङ्स सम्हाल्न सक्ने उनको क्षमता फाइनलमा पनि निर्णायक हुन सक्छ । कप्तान रोहित र अन्य ब्याटरको साथ पाए लुम्बिनीले बलियो योगफल बनाउन सक्छ ।

बलिङमा रुबेन ट्रम्पलम्यान, शेर मल्ल र किशोर महतो टोलीका मुख्य हतियार हुन् । नयाँ बलमा विपक्षी ब्याटरलाई दबाबमा राख्न सक्ने ट्रम्पलम्यान र शेरको जोडीले सुदूरपश्चिमलाई यसअघि नै समस्यामा पारेको छ । पहिलो भेटमा किशोरले चार र शेरले तीन विकेट लिएका थिए । पहिलो क्वालिफायरमा पनि ट्रम्पलम्यान र शेरले दुई–दुई विकेट लिए ।

तर, लुम्बिनीको चुनौती डिकवेलामाथिको निर्भरता घटाउनु हो । उनलाई सुरुमै रोक्न सके सुदूरपश्चिमले मध्यक्रममाथि दबाब बनाउन सक्छ । त्यसैले रोहितसहित अन्य ब्याटरको योगदान उपाधि रक्षाका लागि उत्तिकै आवश्यक हुनेछ ।

तेस्रो प्रयासमा सुदूरपश्चिम 
सुदूरपश्चिमका लागि यो फाइनल लगातार दुईपटकको असफलता बिर्साउने अवसर हो । पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनीसँग फाइनलमा पराजित भएको टोली यसपटक उपाधि जित्दै इतिहास बदल्न चाहन्छ ।

यस सिजन सुरुवाती तीन खेलमध्ये दुईमा पराजित भए पनि त्यसपछि लगातार चार खेल जितेर लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनीसँग रोकिएको थियो । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई दुई विकेटले हराउँदै उसले फाइनल यात्रा तय गरेको हो ।

टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मुख्य आधार हुन् । पहिलो क्वालिफायरमा लुम्बिनीविरुद्ध ५२ रन बनाएका उनले फाइनलमा पनि ब्याटिङको जिम्मेवारी सम्हाल्नुपर्नेछ । तर, उनलाई अन्य ब्याटरको साथ आवश्यक छ । ‘लुम्बिनीको बलिङ राम्रो छ । अट्याकबाट कसरी जोगिने भन्ने योजनामा छौं,’ कप्तान ऐरीले भने ।  

श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेको पछिल्लो लयले सुदूरपश्चिमको आत्मविश्वास बढाएको छ । चितवनविरुद्ध दोस्रो क्वालिफायरमा दुई विकेट लिनुका साथै अविजित ५३ रन बनाएका उनी फाइनलका निर्णायक खेलाडी बन्न सक्छन् । स्कट कुगेलेइनको बलिङ र तल्लोक्रमको ब्याटिङ पनि टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।

सुदूरपश्चिमको मुख्य कमजोरी भने शीर्षक्रमको अस्थिरता हो । ओपनर जर्ज मन्सेले पछिल्ला महत्त्वपूर्ण खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् । विनोद भण्डारीले आक्रामक सुरुवात गर्न सक्ने भए पनि मन्सेबाट पर्याप्त साथ मिलेको छैन । लुम्बिनीका नयाँ बलका बलरविरुद्ध सुरुवाती विकेट जोगाउन नसके सुदूरपश्चिम फेरि दबाबमा पर्न सक्छ ।

कसको पल्लाभारी ?
यस संस्करणमा भएका दुई भेटले लुम्बिनीको बलियो पक्ष र सुदूरपश्चिमको कमजोरी दुवै उजागर गरेका छन् । लिग चरणमा सुदूरपश्चिम ८७ रनमै समेटिएको थियो । जवाफमा लुम्बिनीले तीन विकेट गुमाएर ९.५ ओभरमै लक्ष्य पूरा ग¥यो । पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमले आठ विकेट गुमाएर १०५ रन बनाउँदा लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।

त्यसैले फाइनलमा लुम्बिनीका ट्रम्पलम्यान र शेर मल्लविरुद्ध सुदूरपश्चिमका ओपनरको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । अर्कोतर्फ, डिकवेलालाई सुरुमै रोक्न सके सुदूरपश्चिमले खेलमा पकड बनाउन सक्छ । रत्नायके र दीपेन्द्रले ब्याटिङमा जिम्मेवारी सम्हाले लुम्बिनीमाथि दबाब सिर्जना गर्न सक्नेछन् ।

लुम्बिनी पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको हो भने सुदूरपश्चिमले दोस्रो क्वालिफायरको कठिन खेल खेलेर आएको छ । यसले लुम्बिनीलाई तयारी र आरामका लागि तुलनात्मक रूपमा बढी समय दिएको छ । समग्र प्रदर्शन, ब्याटिङको गहिराइ र बलिङ आक्रमणका आधारमा लुम्बिनी केही अगाडि देखिन्छ ।

तर, सुदूरपश्चिमसँग दीपेन्द्रको अनुभव, रत्नायकेको लय र पहिलो उपाधि जित्ने बलियो प्रेरणा छ । शीर्षक्रमले राम्रो सुरुवात दिन सके उसले अघिल्ला हारको हिसाब फाइनलमै चुक्ता गर्न सक्छ ।

टिकट ‘सोल्ड आउट’ले विवाद
एनपिएल फाइनलप्रति दर्शकको आकर्षण टिकट बिक्रीमा पनि देखिएको छ । शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला गर्ने जानकारी दिइए पनि वेबसाइटमा १२ः५७ बजे नै ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन् । बिक्री समय सुरु भएपछि पनि टिकट खरिद गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरिएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले भने अत्यधिक मागका कारण केही मिनेटमै सबै टिकट बिक्री भएको जनाएको छ । क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैपटक खरिद प्रयास गरेकाले यस्तो अवस्था आएको बताएका छन् ।

मैदानको सीमित क्षमताका कारण सबै दर्शकलाई टिकट उपलब्ध गराउन नसकिएको उल्लेख गर्दै क्यानले असुविधाप्रति क्षमायाचना गरेको छ । टिकट नपाएका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्मबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न पनि आग्रह गरेको छ । फाइनलका लागि सामान्यतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको थियो ।

लुम्बिनीका लागि उपाधि रक्षा प्रतिष्ठाको विषय हो भने सुदूरपश्चिमका लागि तेस्रो प्रयासमा इतिहास रच्ने अवसर । समग्र प्रदर्शनका आधारमा लुम्बिनी केही अगाडि देखिए पनि सुदूरपश्चिमको चुनौती कम छैन । त्यसैले शनिबारको फाइनल केवल उपाधि भिडन्त मात्र नभई दुई फरक लक्ष्य र मनोविज्ञानबीचको प्रतिस्पर्धासमेत हुनेछ ।

laxmi recruitement

सम्बन्धित खबर