२०८३ मंसिर ५ गते शनिवार / Nov 21 , 2026 , Saturday
२०८३ मंसिर ५ गते शनिवार

अब रातभर जाग्नेछ काठमाडौं 

२४ घण्टा खुल्ने सहरको सपना व्यापार र पर्यटन विस्तारमा मात्र सीमित छैन । राति काम गर्ने श्रमिकको सुरक्षा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा, महिला सुरक्षादेखि प्रशासनिक जवाफदेहितासम्मको नयाँ व्यवस्थापन खोजिँदै छ ।

Nada
सपना बोहरा
२०८३ मंसिर ५ गते ०८:३१
Shares
अब रातभर जाग्नेछ काठमाडौं 

काठमाडौं : रातको १० बज्न लाग्दा काठमाडौंको चहलपहल घट्न थाल्छ । दिनभर भिडभाड हुने सडक क्रमशः सुनसान बन्छन् । पसलका सटर झर्छन्, सार्वजनिक यातायात पातलिन्छन् र अत्यावश्यक कामबाहेकमा मानिसहरू घरबाहिर निस्कन चाहँदैनन् ।

तर, काठमाडौंको जीवन रात परेसँगै पूर्ण रूपमा रोकिँदैन । अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, होटल तथा रेस्टुरेन्टका कर्मचारी, सरसफाइकर्मी र डेलिभरी सेवामा खटिएका श्रमिकका लागि रात पनि कामकै समय हो । रात्रिकालीन पेसामा आबद्ध मानिसहरूको आफ्नै दिनचर्या छ ।

यही समयमा काठमाडौंमा आउने बिदेसी पर्यटकका लागि भने खाना, यातायात र मनोरञ्जनका विकल्प सीमित हुन्छन् । राति विमानस्थलमा ओर्लिने पर्यटकले समेत सहज सेवा पाउन कठिन हुन्छ । यही अवस्थालाई बदल्दै काठमाडौंलाई २४सै घण्टा चलायमान सहर बनाउने तयारी अघि बढेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीलाई २४सै घण्टा सञ्चालनयोग्य बनाउने योजनासहित सुरक्षा र पूर्वाधार व्यवस्थापनको गृहकार्य थालेको छ । काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै रातको समयमा पनि आर्थिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सकिने वातावरण तयार पार्ने प्रशासनको योजना छ ।

यस अवधारणामा होटल, रेस्टुरेन्ट, बार, सपिङ क्षेत्र र पर्यटकीय गतिविधिलाई प्राथमिकतामा राखिएको छ । सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सिसिटिभी निगरानी र सडक बत्तीलाई आवश्यक पूर्वाधारका रूपमा हेरिएको छ । स्थानीय तह, यातायात व्यवसायी, सरकारी निकाय र निजी क्षेत्रसँग समन्वय गरेर बजार तथा व्यापारिक क्षेत्रलाई रातभर सञ्चालन गर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

काठमाडौंमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्ने अभ्यास भने नयाँ होइन । २०८१ वैशाख १ देखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था गरिएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा यो अभियान सुरु भएको थियो । त्यसपछि ठमेलमा रात्रिकालीन गतिविधि विस्तार भए पनि सुरक्षा, पार्किङ, फोहोर व्यवस्थापन र गैरकानुनी गतिविधि नियन्त्रणका चुनौती देखिएका थिए ।

अहिले प्रशासनले ती अनुभवसमेतलाई ध्यानमा राख्दै काठमाडौंलाई चरणबद्ध रूपमा २४सै घण्टा सञ्चालन गर्ने अवधारणामा काम गरिरहेको जनाएको छ ।
काठमाडौंलाई २४सै घण्टा खुला राख्ने योजनाको एउटा प्रमुख उद्देश्य आर्थिक गतिविधि विस्तार गर्नु हो । अहिले दिनको सीमित समयमा केन्द्रित व्यापारलाई रातसम्म विस्तार गर्न सके होटल, रेस्टुरेन्ट, मनोरञ्जन, पर्यटन, यातायात, खुद्रा व्यापार तथा आपूर्ति सेवामा आर्थिक गतिविधि बढ्न सक्ने होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन् ।

‘विदेशबाट आउने पर्यटक राति विमानस्थलमा ओर्लिएपछि खाना, यातायात र मनोरञ्जनका लागि सहज विकल्प खोज्छन्,’ उनी भन्छन्, ‘तर धेरै सेवा बन्द भइसकेका हुन्छन् । २४सै घण्टा सञ्चालन हुने व्यवस्था प्रभावकारी भए पर्यटकले राति पनि सेवा पाउन सक्छन् ।’

यसले पर्यटकको बसाइ सहज बनाउनुका साथै खर्च गर्ने अवसर पनि बढाउने उनको भनाइ छ । शाहले काठमाडौंलाई २४सै घण्टा खुला गर्ने अवधारणालाई सकारात्मक रूपमा लिएका छन् । ‘त्यसको लागि सरकारले सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्छ । जहाँ पर्यटक बढी आउँछन्, त्यहाँ २४सै घण्टा खुला रहने अन्तर्राष्ट्रिय अभ्यास पनि हो,’ उनले भने ।

उनका अनुसार व्यवसाय सञ्चालनको समय विस्तार हुँदा पर्यटन क्षेत्र मात्र नभई रोजगारी र राजस्व वृद्धिमा पनि सहयोग पुग्न सक्छ । होटल, रेस्टुरेन्ट र मनोरञ्जन क्षेत्रसँगै किसान, माछा तथा मासु व्यवसायीलगायत आपूर्ति शृंखलामा जोडिएका क्षेत्रले समेत लाभ लिन सक्छन् । ‘व्यापारको समय विस्तार हुँदा नयाँ रोजगारी सिर्जना हुन सक्ने सम्भावना पनि छ, किसान, माछा, मासु व्यवसायीदेखि सबै क्षेत्रलाई रोजगार मिल्छ, जसले सरकारको आर्थिक गतिविधिलाई सहयोग पुग्छ,’ उनले भने ।

शाहका अनुसार सुरक्षा र आवश्यक मापदण्डको पालना गर्दै होटल तथा पर्यटन व्यवसायी २४सै घण्टा पर्यटकलाई सेवा दिन तयार छन् । प्रचलित कानुन, शान्ति सुरक्षा र २४सै घण्टा सञ्चालनसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धतासहित दर्ता भई सञ्चालनमा रहेका व्यवसायलाई अनुमति दिनुपर्ने उनको भनाइ छ ।

२४सै घण्टा चल्ने सहरको सबैभन्दा संवेदनशील पक्ष सार्वजनिक सुरक्षा हो । विशेषगरी महिला, बालबालिका, राति काम गर्ने श्रमिक र सार्वजनिक यातायातमा निर्भर नागरिकका लागि सुरक्षित वातावरण आवश्यक हुन्छ ।

सडकमा बत्ती राख्ने र सिसिटिभी जडान गर्ने कामले मात्रै सुरक्षा सुनिश्चित हुँदैन । नियमित प्रहरी गस्ती, तत्काल उद्धार सेवा, उजुरी सुन्ने प्रभावकारी संयन्त्र र सार्वजनिक यातायातको उपलब्धता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् ।

जिल्ला प्रशासनले रात्रिकालीन सुरक्षा रणनीति, प्रहरी परिचालन, सडक बत्ती र सिसिटिभी निगरानीलाई योजनाको महत्त्वपूर्ण पक्ष बनाएको छ । अपराध हुन सक्ने संवेदनशील क्षेत्र पहिचान गरी निगरानी बढाउने तयारीसमेत भइरहेको छ ।

त्यससँगै राति बजार खुल्दा ध्वनि प्रदूषण, मदिराजन्य गतिविधि, पार्किङ, फोहोर व्यवस्थापन र आवासीय क्षेत्रको शान्ति सुरक्षामा चुनौती आउन सक्छ । व्यवसाय सञ्चालनको समय बढाउँदा स्थानीय बासिन्दाको दैनिकी र अधिकारलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

प्रशासनले सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, उद्योगी व्यवसायी तथा यातायात व्यवसायीसँग चरणबद्ध छलफल गरिरहेको जनाएको छ । आवश्यक पूर्वाधार र सुरक्षा सुनिश्चित भएपछि मात्रै थप क्षेत्र सञ्चालन गर्ने विषयमा निर्णय हुने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार काठमाडौंलाई २४सै घण्टा सञ्चालन गर्न आवश्यक तयारी अघि बढाइएको छ । ‘काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै २४सै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक तयारी भइरहेको छ,’ उनले भने ।

काठमाडौं देशकै महत्त्वपूर्ण केन्द्र भएकाले जिल्लाभर भरपर्दो सुरक्षा व्यवस्थापनसँगै सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सिसिटिभी र सडक बत्तीजस्ता न्यूनतम पूर्वाधार व्यवस्थित गर्नुपर्ने पौडेलले बताए ।

उनका अनुसार रात्रीकालीन आर्थिक गतिविधि विस्तार गर्न सुरक्षा र पूर्वाधार दुवै पक्षलाई सँगसँगै अघि बढाउनुपर्नेछ । काठमाडौंलाई रातभर खुला राख्ने योजना केवल होटल, रेस्टुरेन्ट र बजारको समय बढाउने विषय मात्र होइन । यसले सहरको आर्थिक गतिविधि, रोजगारी, पर्यटन र नागरिकको दैनिकीलाई नयाँ ढंगले जोड्न सक्छ । तर, यसको सफलता राति व्यवसाय खुला राख्न अनुमति दिनुमा मात्र निर्भर हुँदैन । सुरक्षित सडक, सहज यातायात, भरपर्दो स्वास्थ्य सेवा र व्यवस्थित सार्वजनिक पूर्वाधारले नै काठमाडौंलाई साँच्चिकै २४सै घण्टा जाग्ने सहर बनाउन सक्नेछन् ।

laxmi recruitement

सम्बन्धित खबर