२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

बरहवा तालमा डुबेर गौरका अजय केशरीको मृत्यु, सुरक्षा प्रबन्ध मिलाउन स्थानीयको माग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज २१ गते १४:१७
Shares
बरहवा तालमा डुबेर गौरका अजय केशरीको मृत्यु, सुरक्षा प्रबन्ध मिलाउन स्थानीयको माग

रौतहट : रौतहटको सदरमुकाम गौरस्थित प्रसिद्ध बरहवा तालमा डुबेर एक स्थानीय युवकको मृत्यु भएको छ । गौर नगरपालिका–५ निवासी अजय केशरीको बुधबार तालमा डुबेर मृत्यु भएको हो ।

ncell

प्रत्यक्षदर्शीका अनुसार केशरी तालमा डुबेको खबर पाएलगत्तै उद्धारका लागि सुरक्षा निकाय तथा स्थानीयवासी घटनास्थल पुगेका थिए । खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको संयुक्त टोली तथा स्थानीय युवाहरू खोजी तथा उद्धार कार्यमा खटिएका थिए । तालको गहिरो भागमा लामो समयसम्म खोजी गरेपछि सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा केशरीको शव पानीबाट बाहिर निकालिएको थियो ।

घटनाको खबर फैलिनासाथ बरहवा ताल क्षेत्रमा स्थानीयवासी तथा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण तथा डुब्नुको यथार्थ कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गौरको मुख्य पर्यटकीय तथा सार्वजनिक जलाशयका रूपमा रहेको बरहवा ताल क्षेत्रमा यस्ता दुर्घटना दोहोरिन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । घटनापछि स्थानीय बासिन्दाले ताल वरपर सुरक्षा बार निर्माण गर्न, चेतावनीमूलक बोर्ड राख्न तथा सुरक्षा सतर्कता बढाउन माग गरेका छन् ।

प्रहरी प्रशासनले पनि जलाशय क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन तथा बालबालिका र सर्वसाधारणलाई गहिरो पानीबाट टाढा राख्न आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर