२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

कांग्रेसको बन्द सत्र ४ बजे, चार प्रतिवेदन पारित गर्ने तयारी

Nada
२०८३ असोज २१ गते १३:३०
Shares
कांग्रेसको बन्द सत्र ४ बजे, चार प्रतिवेदन पारित गर्ने तयारी

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारको बन्द सत्र अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ । यसअघि बिहानै सुरु गर्ने तयारी भए पनि बन्द सत्रको समय अपराह्नका लागि सारिएको हो ।

ncell

कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले बन्द सत्र अपराह्न ४ बजे सुरु हुने जानकारी दिएका छन् ।

बन्द सत्रमा महाधिवेशन प्रतिनिधिबीच छलफल भएका चारवटा मुख्य प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने तयारी छ । सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले यसअघि छलफल गरेका छन् ।

बन्द सत्रबाट ती दस्ताबेज पारित भएसँगै महाधिवेशनको नीतिगत छलफलको चरण टुंगिने र नयाँ नेतृत्व चयनको प्रक्रिया मुख्य कार्यसूची बन्नेछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा व्यवस्था गरिएको छ ।

१९ पदाधिकारीका लागि ७९ उम्मेदवार
महाधिवेशनबाट सभापतिसहित पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। पार्टीको नयाँ व्यवस्थाअनुसार सभापति एक, वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ पदाधिकारी रहने व्यवस्था छ ।

तीमध्ये चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुने भएकाले १९ पदाधिकारी निर्वाचनबाट चयन हुनेछन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारी विवरणअनुसार ती पदका लागि ७९ जनाले उम्मेदवारी दिएका छन् ।

सभापतिका लागि वर्तमान सभापति गगनकुमार थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी चुनावी प्रतिस्पर्धामा छन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ। दुवै जना हाल पनि पार्टीको उपसभापति छन् ।

निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारीमाथि दाबी-विरोधलगायतका प्रक्रिया अघि बढिरहेका छन् ।

उम्मेदवारीसम्बन्धी प्रक्रिया टुंगिएपछि अन्तिम नामावली प्रकाशन गरी मतदानको तयारीलाई अन्तिम रूप दिइनेछ । निर्वाचन समितिले असोज २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र असोज २२ गते मतदान गराउने कार्यतालिका तय गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर