
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराएका तीन नेताबीचको सम्बन्ध चर्चायोग्य बनेको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र काठमाडौं क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्गीबीच सभापतिमा प्रतिस्पर्धा हुने भएको हो ।
सभापतिका लागि थापा, खड्गी र राठौरको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । समितिका अनुसार सबैभन्दा पहिले नेता खड्गीले उम्मेदवारी दर्ता गरेका थिए । उनीपछि बेलुकी साढे ६ बजेतिर थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराए । सभापति थापापछि मनोनयन दर्ता गर्दै नेता राठौरले ‘बिनाप्रतिस्पर्धाले लोकतन्त्र कमजोर हुने’ प्रतिक्रिया दिएका छन् ।
सभापतिको प्रतिस्पर्धामा आएका तीन नेताबीचको सम्बन्ध गज्जबको रहेको छ । गगन थापासँग प्रतिस्पर्धामा आएका खड्गीले सिद्धार्थ वनस्थली विद्यालयमा उनै थापालाई कक्षा ९ र १० मा पढाएको दाबी गरेका छन् ।
सभापतिको अर्का आकांक्षीका रूपमा किशोरसिंह राठौर पनि गगन पढेकै त्रिचन्द्र क्याम्पस पढेका हुन् । गगनभन्दा अघि नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका राठौरले नेविसंघको पूर्वकेन्द्रीय अध्यक्ष हुँदै पार्टीको विभिन्न संरचनामा बसेर काम गरे । ०२७९ मा बाँकेबाट निर्वाचित सांसद समेत रहेका राठौर १४औं महाधिवेशनमा सहमहामन्त्री भएका थिए । राठौरले कांग्रेसभित्रको विभाजन अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफूले भूमिका खेल्न सक्ने दाबी गरेका छन् । उनी शेरबहादुर देउवा समूहबाट सहमहामन्त्री हुँदा गगन थापा डा.शेखर कोइरालाको टिमबाट उत्कृष्ट मतका साथ महामन्त्रीमा विजयी भएका थिए । महामन्त्री कार्यकालको उत्तरार्धमा विशेष महाधिवेशनको नेतृत्व गर्दै थापा गत पुसमा सभापति बने । उनी सभापति बनेपछि राठौर विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालतसम्म पुगेका थिए । तर गत फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गगन थापाबाटै टिकट लिएर चुनाव लडेयता थापालाई सभापति स्वीकार गरेर देउवा समूहबाटै अलग भएका थिए । राजनीति सुरुवातका हिसाबले गगन थापा राठौरभन्दा जुनियर भए पनि अहिले थापा पार्टीको करिब निर्विकल्प नेताका रूपमा उदाएका छन् ।
थापामा बढ्दो नेतृत्व क्षमता, समयानुकूल बदलिँदो राजनीतिक अवस्था, परिवेशसँगै थापा पार्टीको मूल नेतृत्वमा आएका हुन् । आगामी चारवर्षे कार्यकालका लागि पनि थापाको पक्षमा पल्लाभारी देखिन्छ । यद्यपि उनलाई सर्वसम्मत हुनबाट रोक्दै नेता राठौरले पनि आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । सर्वसम्मत सभापति बन्ने गगनको चाहनाअनुसार लामो समय आन्तरिक छलफल भए पनि थापालसँग प्रतिस्पर्धा गर्न राठोर र श्यामकृष्ण अघि बढेका हुन् । कांग्रेसका हाई प्रोफाइल नेता थापासँग सभापतिमा भिड्न लागेपछि श्यामकृष्ण चर्चामा छन् । तारकेश्वर नगरपालिका २ का स्थायी बासिन्दा खड्गी कांग्रेसको महाधिवेशन प्रतिनिधि मात्र हुन् । उनी काठमाडौं ६ बाट महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।
विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेका थापाले नियमित महाधिवेशनबाट पनि सभापतिमा निरन्तरता दिन चाहेका छन् । विशेष महाधिवेशनबाट निर्विरोध सभापति भएका थापा त्यसअघि महामन्त्री थिए । १३औं महाधिवेशनमा महामन्त्रीमा पराजित उनी केन्द्रीय सदस्य मनोनीत भएका थिए । विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका थापा लामो समयदेखि पार्टीभित्र पुस्तान्तरण, संगठन सुधार र आन्तरिक लोकतन्त्रका विषय उठाउँदै आएका छन् । कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्रले २५ पदाधिकारीसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने गरी विधान पारित गरेको छ ।
पदाधिकारीमा ‘हेभीवेट’ प्रतिस्पर्धा
१५औं महाधिवेशनमा उम्मेदवारी मनोनयन उत्साहपूर्ण देखियो । पार्टीको पदाधिकारीदेखि केन्द्रीय सदस्य सम्मको संख्या जम्बो छ । मंगलबार साँझसम्म आमआकांक्षीहरूले उम्मेदवारी दर्ता गराउँदै गर्दा महाधिवेशनस्थलमा रौनकता देखिएको हो । कांग्रेसले यसपटक विधानमै ३५ वर्षमुनिका युवाहरूको सहभागितालाई सुनिश्चित गरेपछि उनीहरूदेखि बर्सौं पार्टीको केन्द्रीय तहमा बसेर काम गरेकाहरूको सक्रियता देखिएको छ । सभातिमा प्रतिस्पर्धा कमजोर देखिन्छ । तर पदाधिकारीमा भने हेभीवेट नेताबीच कडा प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीनजना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एकजना, खुला उपसभापतिमा नौजना, समावेशी उपसभापतिमा पाँच, खुला महामन्त्रीमा आठजना र महिला महामन्त्रीमा तीनजनाको उम्मेदवारी परेको छ । त्यस्तै, सहमहामन्त्रीमा ३८ जनाले उम्मेदवारी दिएका छन् ।
सभापतिमा तीनजनाको उम्मेदवारी परे पनि प्रतिस्पर्धा खासै रोचक छैन । तर उपसभापतिको प्रतिस्पर्धामा डा.चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा.मीनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा.चन्द्रमोहन यादव छन् । यीमध्ये दुईजना निर्वाचित हुने विधानमा व्यवस्था छ । चन्द्र भण्डारी गत १४औं महाधिवेशनमा उपसभापतिमा पराजित नेता हुन् भने धनराज १४औं महाधिवेशनबाट निर्वाचित उपसभापति हुन् । त्यस्तै, डा. मीनेन्द्र रिजाल गत महाधिवेशनमा महामन्त्रीका उम्मेदवार थिए । देवराज चालिसे हाल पार्टी प्रवक्ताको भूमिकामा छन् भने सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री हुन् । दीपक गिरी, डा. चन्द्रमोहन यादव र मधु आचार्य पटक–पटक केन्द्रीय समितिमा रहेर काम गर्दै आएका नेता हुन् । समावेशी उपसभापति एकजनाका लागि जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण प्रतिस्पर्धामा छन् । जीवन परियार र फर्मुल्लाह मन्सुर १४औं महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री हुन् भने व्यवसायी विनोद चौधरी, सीता गुरुङ र रञ्जित कर्ण विगतदेखि केन्द्रीय सदस्य थिए । गुरुङ पूर्वमन्त्री र कर्ण बहालवाला राष्ट्रिय सभा सदस्य हुन् ।
दुई खुला महामन्त्रीका लागि आठजनाले मनोनयन दर्ता गराएका छन् । विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल, गुरुराज घिमिरेसहित विशेष महाधिवेशनबाटै सहमहामन्त्री बनेका उदयशमशेर राणा उम्मेदवार छन् । त्यस्तै, लुम्बिनी प्रदेशका निर्वमान सभापति अमरसिंह पुन, पूर्वकेद्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, मेडिकल व्यवसायी पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद डा. सुनील शर्मा, लेखक शंकर तिवारी र डा.सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा सबैभन्दा बढी रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रदीप, गुरु, उदय, नैनसिंह र सुनीलबीचको प्रतिस्पर्धा निकै रोचक हुने नेताहरूले बताएका छन् । यी नेता कार्यकर्ताबीच लोकप्रिय छन् । उदयशमशेर राणा पार्टीको केन्द्रीय समितिमा लामो समयदेखि छन् । उनी अर्थराज्यमन्त्रीसमेत भएका नेता हुन् । निवर्तमान महामन्त्री प्रदीप पौडेल स्वास्थ्यमन्त्री भएर काम गरिसकेका नेता हुन् भने सुनील शर्मा सफल व्यवसायी हुन् । उनीसँग मतदातालाई सहजै तान्न सक्ने क्षमता रहेको कांग्रेसको केन्द्रीय नेताहरू बताउँछन् ।
एकजना महिला महामन्त्रीका लागि तीनजनाको भिडन्त हुने भएको छ । पूर्वसहमहामन्त्री डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दिएका हुन् । खनाल, नेतृत्वमा गगन आएपछि नेपाली कांग्रेस बिपीबाट कांग्रेसमा प्रवेश गरेकी हुन् । डा. डिला संग्रौला लामो समयदेखि केन्द्रीय समितिमा बसेर काम गर्दै विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी नेतृ हुन् भने डिना उपाध्याय १४औं महाधिवेशनमा शेरबहादुर देउवा टिमबाट निर्वाचित सहमहामन्त्री हुन् । विशेष महाधिवेशनलाई बहिष्कार गर्दै देउवा समूहमै रहेर अदालतसम्म पुगेकी उनी महाधिवेशनको पूर्वसन्ध्यामा समायोजनमा आएर केन्द्रीय सदस्य भएकी नेता हुन् । डिला र डिनाको प्रतिस्पर्धा रोचक हुने आकलन छ ।
१५ जना सहमहामन्त्रीका लागी ३८ जनाले उम्मेदवारी दिएका छन् । जसमा खसआर्यतर्फ एक पदका लागि जगदीशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । मधेसीतर्फ महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप साह, रामपल्टन साह, मनीषकुमार मिश्र र मुक्तकुमारी यादवले उम्मेदवारी दिएका छन् ।
दलित सहमहामन्त्रीको एक पदका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली चुनावी मैदानमा छन् । थारू सहमहामन्त्रीमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । अल्पसंख्यक तथा अपांगता समूहबाट नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले उम्मेदवारी दिएका छन् ।
मुस्लिमतर्फको एक सहमहामन्त्री पदका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानबीच प्रतिस्पर्धा हुने भएको छ । सहमहामन्त्री खुलातर्फ अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन् । पिछडिएको क्षेत्रतर्फ पनि एक पदका लागि सातजनाको उम्मेदवारी परेको छ । कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले उम्मेदवारी दिएका छन् । महिला सहमहामन्त्रीको एक पदका लागि नानु बस्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा हुने भएको छ ।
विश्वप्रकाश र पुष्पा निर्विरोध
वरिष्ठ र महिला उपसभापति निर्विरोध भएका छन् । पार्टीको नयाँ व्यवस्था गरिएका यी दुवै पदमा एक–एकजनाले मात्रै उम्मेदवारी दिएका हुन् । वरिष्ठ उपसभापतिमा विशेष महाधिवेशनबाट उपसभापति बनेका विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ ।
उनले कांग्रेसको इतिहासमै पहिलो वरिष्ठ उपसभापति बन्ने मौका पाए । त्यस्तै पहिलोपटक विधानमा व्यवस्था गरिएको महिला उपाध्यक्षमा विशेष महाधिवेशनबाट उपसभापति बनेकी पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ । उनी कांग्रेसको पहिलो ‘महिला उपसभापति’ बन्न सफल भइन् । पार्टीको विधानमा थपिएका यी दुवै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध भए पनि निर्वाचन समितिले आधिकारिक घोषणा भने गरेको छैन ।