
काठमाडौं : नेपालमा स्क्रब टाइफस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म ७४ जिल्लाका १ हजार २१० जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ ।
इडिसिडीका अनुसार पछिल्लो समय सबैभन्दा धेरै संक्रमित दाङमा देखिएका छन् । दाङमा मात्रै ६२८ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, स्याङ्जामा ५२५, बझाङमा ४५७, संखुवासभामा ४५६, पाल्पामा ४०३, धादिङमा ३६८ र सल्यानमा ३४२ जनामा संक्रमण देखिएको छ । यसैगरी बर्दियामा ३६८, दार्चुलामा ३२४ र गोरखामा ३२१ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ ।
स्क्रब टाइफसबाट बच्न झाडी, घाँस, खेतबारी तथा जंगल क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन इडिसिडीले आग्रह गरेको छ । यस्ता स्थानमा जाँदा पूरै शरीर ढाक्ने कपडा तथा लामो बाहुला भएको लुगा लगाउन र सम्भव भएसम्म गमबुट वा जुत्ता प्रयोग गर्न सुझाव दिइएको छ ।
खेतबारीमा काम गरेपछि वा घाँस–दाउरा गरेर फर्किएपछि सकेसम्म तत्कालै लुगा फेरेर नुहाउन पनि इडिसिडीले अनुरोध गरेको छ । लगाएका कपडा मनतातो पानी र साबुनले धोएमा समेत संक्रमणको जोखिम कम गर्न सकिने जनाइएको छ ।
इडिसिडीले घर वरिपरि मुसाको बासस्थान रहेको ठाउँ पहिचान गरी नष्ट गर्न तथा घर आसपासका घाँस र झाडी सफा राख्न आग्रह गरेको छ । सम्भव भएमा कीटनाशक वा किरा भगाउने रिपेलेन्ट प्रयोग गर्नसमेत सुझाव दिइएको छ ।
स्क्रब टाइफस संक्रमण हुँदा विशेषगरी ज्वरो आउने, टाउको दुख्ने, गिर्खा आउने, खान मन नलाग्ने, खोकी लाग्ने, निमोनिया हुने तथा शरीर दुख्नेजस्ता लक्षण देखिन सक्छन् ।