
रौतहट : दृष्टिविहीनता निवारण तथा ग्रामीण क्षेत्रका नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ रौतहटको बृन्दावनमा सञ्चालित बृहत् निःशुल्क आँखा शिविरमामा २०५ जनाले निःशुल्क आँखा स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
बृन्दावन नगरपालिका वडा नं. ३ स्थित विश्रामपुरमा आयोजित उक्त बृहत् निःशुल्क आँखा शिविरमा स्थानीय बालबालिका, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा विपन्न समुदायका व्यक्तिहरूले प्रत्यक्ष लाभ उठाएका छन् । युवा समाजसेवी लालबाबु पटेलको विशेष नेतृत्व तथा सक्रिय सहभागितामा सो शिविर सम्पन्न भएको हो ।
नेपालमा दृष्टिसम्बन्धी समस्या न्यूनीकरणका लागि क्रियाशील रुइत फाउन्डेसनको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो । गौर आँखा अस्पताल, सिभिल ह्युमन अस्पताल चन्द्रपुर तथा विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजना र साझेदारीमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा २०५ जना बिरामीको आँखाको विस्तृत परीक्षण गरेर परामर्शसहित आवश्यक औषधि वितरण गरिएको थियो । परीक्षणका क्रममा ४८ जना बिरामीमा मोतियाविन्दुको जटिल समस्या देखिएकाले उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको छ ।

छनोटमा परेका सबै ४८ जना बिरामीलाई आगामी आइतबार गौर आँखा अस्पतालमा अत्याधुनिक प्रविधिसहितको लेन्स प्रत्यारोपण गरी शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ ।
ग्रामीण भेगका बिरामीलाई यातायात र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने हेतुले विशेष व्यवस्था गरिएको गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जनाए ।
पाण्डेका अनुसार छनोट भएका बिरामीहरूलाई अस्पतालसम्म ल्याउन र शल्यक्रियापश्चात् सकुशल घरसम्म पुर्याउनका लागि अस्पतालकै सवारी साधन प्रयोग गरिनेछ । शल्यक्रिया, लेन्स, औषधि, आवास तथा आवतजावतसहितका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा निःशुल्क रहने अस्पताल प्रशासनले जनाएको छ ।
अन्धोपनविरुद्धको यो महाअभियानलाई जिल्लाव्यापी रूपमा निरन्तरता दिइने बताइएको छ । सोही क्रमअन्तर्गत आगामी असोज २७ गते रौतहटकै परोहा नगरपालिकास्थित जिंगडवामा पनि यस्तै निःशुल्क आँखा जाँच तथा उपचार शिविर सञ्चालन गरिने कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।
स्थानीय तहमा सञ्चालित यस्ता सेवामूलक अभियानले विपन्न नागरिकलाई ठुलो राहत पुर्याएको भन्दै स्थानीयवासीले आयोजक समाजसेवी पटेल तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेका छन् ।