
रौतहट : ग्रामीण भेगका सर्वसाधारणलाई घरआँगनमै सहजरूपमा आँखा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित बृहत् निःशुल्क आँखा स्वास्थ्य महाअभियानअन्तर्गत रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा आयोजित शिविर सम्पन्न भएको छ । औरैयास्थित जनता माध्यमिक विद्यालयमा मंगलबार सम्पन्न उक्त शिविरबाट ४२८ जना स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल पुरेनवाको आयोजना तथा प्राविधिक सहयोग रुइत फाउन्डेसनको आर्थिक सहयोग र युवा समाजसेवी राकेश पटेलको विशेष पहल तथा सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा आँखा परीक्षण गराएकामध्ये २६६ जना महिला र १६२ जना पुरुष रहेका छन् । स्वास्थ्य परीक्षणका क्रममा मोतिबिन्दू तथा अन्य जटिल प्रकारका आँखासम्बन्धी समस्या पहिचान भएका ८३ जना बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए । छनोटमा परेका बिरामीहरूलाई अस्पतालको आफ्नै सवारीसाधनमार्फत गौर आँखा अस्पताल ल्याउने शल्यक्रिया पश्चात् सकुशल घरसम्म पुर्याउने तथा सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्था मिलाइएको संयोजक पाण्डेले बताए । यसका साथै शिविरमा आँखाको उपचार गराउन आएका ३०७ जना सेवाग्राहीलाई आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको छ ।
शिविरमा सुयोग बलम्पाकी र अमित दासको संयुक्त नेतृत्वमा ललित झा, शिवशंकर महतो, सन्तोष यादव, गौरीशंकर राउतसहित सात जना प्राविधिक स्वास्थ्यकर्मीको टोलीले बिरामीहरूको आँखा परीक्षण परामर्श तथा उपचार सेवा प्रदान गरेका थिए ।
ग्रामीण क्षेत्रमा व्याप्त अन्धोपन न्यूनीकरण तथा पहुँचबाहिर रहेका नागरिकलाई लक्षित गर्दै गौर आँखा अस्पतालले यो अभियानलाई निरन्तरता दिँदै आएको छ । अभियानअन्तर्गत आगामी कात्तिक १० गते रौतहटकै परोहा नगरपालिका स्थित जिंगडवामा अर्को बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी भइरहेको संयोजक पाण्डेले जनाए । उनले सर्वसाधारण नागरिकलाई नजिकैको शिविरमा पुगेर निःशुल्क आँखा परीक्षण परामर्श तथा उपचार सेवाको लाभ लिनसमेत हार्दिक अपिल गरे ।
हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा सबैको साझेदारी भन्ने मूल नाराका साथ समुदायस्तरमै आँखाको समस्या पहिचान गरी समयमै उपचार पुर्याउने लक्ष्यका साथ सञ्चालित यस महाअभियानले स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित ग्रामीण क्षेत्रका बासिन्दालाई ठूलो राहत पुर्याउँदै आएको छ ।