
काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा ओमानलाई ११३ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमानले ४० ओभरमा अलआउट हुँदै १५० रन मात्र जोड्न सक्यो । ओमानका लागि विनायक शुक्लाले अर्धशतकीय इनिङ खेले । ८३ बल खेलेका शुक्लाले ६ चौका र १ छक्काको सहयोगमा ७७ रन बनाए । जय ओडिराले ५७ बलमा २५ रन बनाए भने जतिन्दर सिंहले ३५ बलमा १८ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान ३-३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा करण केसी र ललितनारायण राजवंशीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।
नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेले । रोहितले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए । करण केसीले आक्रामक पारी खेल्दै १६ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ४० रनको योगदान दिए । अर्जुन कुमालले ५९ बलमा ४ चौकाको सहयोगमा ४० रन बनाए ।
इशान पाण्डेले ५५ बलमा ४ चौकाको सहयोगमा ३७ रन बनाए भने बसिर अहमदले ५० बलमा ३ चौकाको सहयोगमा ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन बनाउँदा सन्दीप जोराले १२ बलमा १० रन बनाए ।
ओमानका लागि शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए । हसनइन शाहले एक विकेट लिए ।