
काठमाडौं : जोरपाटी फुटबल क्लबद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड भेट्रान फुटबल प्रतियोगिता-२०८३ को उपाधि युनिक मःमः ले जितेको छ । प्रतियोगिता विजेता बनेसँगै टिम युनिक मःमः ले नगद दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता डिल्लीबजार भेट्रानले एक लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट विधामा डिल्लीबजार भेट्रानका सुदन बोहोरा उत्कृष्ट गोलकिपर, युनिक मःमः का प्रकाश शर्मा उत्कृष्ट रक्षक, डिल्लीबजार भेट्रानकै मनसाजन राजभण्डारी उत्कृष्ट मिडफिल्डर र उच्च गोलकर्तामा फ्रीडम फाइटरका निलेन्द्र देवानले व्यक्तिगत विधामा उपाधि चुमे ।
जोरपाटी फुटबल क्लबको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको उक्त प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जोरपाटी फुटबल क्लबका अध्यक्ष रञ्जित लामाको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको विशेष उपस्थिति रहेको थियो ।
चार दिनसम्म सञ्चालित प्रतियोगितामा युनिक मःमः, डिल्लीबजार भेट्रान, जोरपाटी भेट्रान, बौद्ध भेट्रान, ललितपुर भेट्रान, इम्पेरियल भेट्रान, चावहिल भेट्रान, एमभीएस भेट्रान, बीएमजी भेट्रान, नागस्वती हेटौडा, आरुबारी भेट्रान, सेक्रेट बार, विरेन्द्र पुस्तकालय, कोटेश्वर भेट्रान, फ्रिडम फाइटर ए, फ्रिडम फाइटर बी, सन्तोष एफसी, रेभ फुटसल, भुटान देबी, कैलाली भेट्रान र धोवीधारा भेट्रान गरी २१ टोलि सहभागी थिए ।