
काठमाडौं : नेपाल बुद्धिचाल महासंघको समन्वयमा आयोजना हुने २०औँ एसियाली विद्यालयस्तरीय चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न राष्ट्रिय च्याम्पियनद्वय अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका छन् ।
रुसको बुनरेभो, तुला क्षेत्रमा बिहीबारदेखि सञ्चालन हुने प्रतियोगितामा अग्रिम सैंजुले युवा १३ वर्ष तथा अग्रता आचार्यले युवा ११ वर्ष समूहमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूसँगै खेलाडीका अभिभावक अमूल्य आचार्य पनि रुस गएका छन् ।
एसियाली चेस महासंघ (एसीएफ)को सहकार्यमा स्थानीय आयोजकले फिडेको कार्यविधिअनुसार सञ्चालन गर्ने प्रतियोगितामा क्लासिकल, र्यापिड र ब्लिट्ज विधामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक विधामा ९ चरणका खेल हुनेछन् ।
अक्टोबर १ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ राष्ट्रका ३२१ खेलाडीको सहभागिता सुनिश्चित भएको छ । प्रतियोगितामा नेपालसहित चीन, इन्डोनेसिया, भारत, इरान, काजकिस्तान, पाकिस्तान, रुस, श्रीलंका, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
छात्रातर्फ युवा ११ वर्ष समूहमा प्रतिस्पर्धा गर्ने अग्रता आचार्य र छात्रतर्फ युवा १३ वर्ष समूहका अग्रिम सैंजुले आफ्नो समूहमा स्वर्ण, रजत र कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
खेलाडीहरूको हवाई टिकट, खाना तथा आवासको व्यवस्थापन नेपाल बुद्धिचाल महासंघले गरेको छ । पछिल्लो समय महासंघले नेपाली चेस खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर बढाउँदै आएको छ ।