
दुबई, युएई : युएईमा नेपाली समुदायबीच एकता, भाइचारा र फुटबलको विकास गर्ने उद्देश्यले आयोजित माई अरब लमजुङ दसैं कप २०२६ सम्पन्न भएको छ । प्रतियोगिताको ओपन एजतर्फ नखिल गोर्खा एफसी र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्स च्याम्पियन बनेका छन् ।
ओपन एजको फाइनलमा नखिल गोर्खा एफसीले मेची महाकाली एफसीलाई ५–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो । विजेताले ९ हजार र उपविजेताले ४ हजार दिराम पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै, भेट्रान्सतर्फ लमजुङ एफसीले ग्रीन सिटी इलाम एफसीसँग निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ३–२ को जित निकाल्दै उपाधि हासिल गरेको थियो ।
लमजुङ एफसी–माई अरबको आयोजनामा तीन सातासम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न नेपाली फुटबल टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहभागी टोली, खेलाडी, यूएई नेपाली फुटबल संघ, नेपाली रेफ्री कमिटी तथा सम्पूर्ण सहयोगीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ ।
प्रतियोगिताले युएईमा रहेका नेपालीबीच आपसी सद्भाव बढाउनुका साथै नेपाली फुटबलको विकासमा योगदान पुर्याएको आयोजकको विश्वास छ ।
