
दोहा, कतार : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले देशको सार्वभौमसत्ता, आर्थिक स्थायित्व, राष्ट्रिय सुरक्षा र क्षेत्रीय शान्तिलाई प्राथमिकतामा राख्दै शुरा काउन्सिलको ५५औँ वार्षिक सत्र उद्घाटन गरेका छन् । दोहास्थित तमिम बिन हमाद हलमा आयोजित समारोहमा अमिरले हालैका चुनौतीबिच कतारी नागरिक तथा बासिन्दाले देखाएको एकता, धैर्य र जिम्मेवारीको प्रशंसा गरे । उनले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षामा खटिएका सशस्त्र बल, सुरक्षा निकाय तथा सरकारी संस्थाहरूको योगदानको पनि सराहना गरे ।
कतारको भूमिमा इरानले गरेको आक्रमणलाई सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन बताउँदै अमिरले कतार संवाद र कूटनीतिक समाधानको पक्षमा रहे पनि राष्ट्रिय सुरक्षा र रक्षामा सम्झौता नगर्ने स्पष्ट पारे । आर्थिक अवस्थाबारे बोल्दै उनले हर्मुज जलडमरू बन्द हुनु र रासलफानका केही ऊर्जा संरचनामा क्षति पुग्नुले इन्धन निर्यात प्रभावित भएको बताए । यद्यपि, गैरहाइड्रोकार्बन क्षेत्रको विस्तारले अर्थतन्त्रलाई बलियो बनाएको उनको भनाइ थियो । सन् २०२५ मा कतारको अर्थतन्त्र २.९ प्रतिशतले वृद्धि भएको र मुद्रास्फीति ०.५ प्रतिशतमा सीमित रहेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षमा २२१ अर्ब कतारी रियालका पूर्वाधार तथा लगानी आयोजना अघि बढाइने जानकारी दिए । नर्थ फिल्ड ग्यास विस्तार र अमेरिकाको गोल्डेन पास आयोजना पनि योजनाअनुसार अघि बढिरहेको उनले बताए ।
अमिरले शिक्षा, प्रविधि र डिजिटल रूपान्तरणलाई राष्ट्रिय विकासको आधारका रूपमा प्रस्तुत गर्दै ३६० भन्दा बढी नयाँ डिजिटल सेवा सुरु भएको जानकारी दिए । युवामा आधुनिक सीपसँगै अरबी भाषा, राष्ट्रिय पहिचान र सांस्कृतिक मूल्य सुदृढ गर्नुपर्नेमा पनि उनले जोड दिए । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा उनले खाडी सहयोग परिषद्का सदस्य राष्ट्रहरूको सुरक्षा र सार्वभौमसत्तामा कुनै सम्झौता हुन नसक्ने बताए । प्यालेस्टाइनको मुद्दालाई कतारको प्राथमिकतामा राख्दै गाजामा भइरहेका घटनालाई नरसंहारको संज्ञा दिएका उनले दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार जबाफदेही बनाउन माग गरे । सुडान, लिबिया, यमन र सोमालियाका सङ्कटको राजनीतिक तथा न्यायोचित समाधान खोज्नुपर्ने कतारको अडान पनि उनले दोहोर्याए ।
सम्बोधनको अन्त्यमा अमिरले राष्ट्रिय सुरक्षा र समृद्धिका लागि पूर्व तयारी, विविध कृत अर्थतन्त्र, सुदृढ संस्थागत संरचना र नागरिकको जिम्मेवारी महत्त्वपूर्ण हुने बताए । कतारको व्यवस्थापकीय निकायका रूपमा रहेको शुरा काउन्सिलमा ४५ सदस्य रहने व्यवस्था छ । तीमध्ये ३० जना प्रत्यक्ष निर्वाचनबाट चयन हुन्छन् भने १५ जना अमिरद्वारा मनोनीत गरिन्छन् ।