२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

दिल्लीबाट विश्वको ध्यान खिचिरहेकी नेहा बोरा

Nada
२०८३ असोज २७ गते ०६:१५
Shares
दिल्लीबाट विश्वको ध्यान खिचिरहेकी नेहा बोरा

काठमाडौं : दिल्लीको कनट प्लेस र आरके आश्रम मेट्रो स्टेसन आसपास ११ अक्टोबरमा प्रदर्शनकारी र प्रहरीबीच लुकामारी चलिरहेको थियो । प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिइरहेको थियो । त्यही क्रममा नेहा बोरा पक्राउ परेको खबर फैलियो । सञ्चारकर्मीहरू उनको तस्बिर खिच्न दौडिए । तर प्रहरीको नियन्त्रणमा रहेकी युवती नेहा थिइनन् । उनीजस्तै देखिने अर्की युवती थिइन् । 

ncell

वास्तविक नेहा भने केही पर प्रदर्शनकारीसँगै थिइन् । केही समयपछि विजय चोकनजिक उनी पनि प्रहरीको नियन्त्रणमा परिन् । अघिल्लो दिन पनि पक्राउ परेकी उनी छुटेपछि फेरि सडकमा फर्किएकी थिइन् । 

पक्राउ, रिहाइ र फेरि प्रदर्शन अहिले नेहा बोराको परिचय बनेको छ । भारतमा मतदाता नामावली संशोधनलाई लिएर चर्किएको विरोधमा उनी अहिले अग्रपंक्तिमा देखिन्छिन् । अक्टोबर १० मा जन्तरमन्तर जान रोकिएपछि उनले सामाजिक सञ्जालबाट दिल्ली हाटमा भेला हुन आह्वान गरेकी थिइन् । उनको सन्देश थियो, ‘आज दिल्ली हाट नै जन्तरमन्तर बन्छ ।’

सडकमा उनको उपस्थिति भने आकस्मिक होइन । यसअघि विद्यार्थी आन्दोलन र वामपन्थी राजनीतिमा सक्रिय रहेकी नेहा पछिल्ला महिनामा शिक्षा, परीक्षा प्रणाली र सरकारी जबाफदेहिताका विषय उठाउँदै राष्ट्रिय चर्चामा आएकी हुन् । 

सैनिक परिवारदेखि राजनीतिसम्म

नेपालको महेन्द्रनगरबाट करिब २५ किलोमिटर टाढा भारतको उत्तराखण्डस्थित खटिमाकी हुन्, २९ वर्षीया नेहा । उनको जन्म त्यहाँ भए पनि बाल्यकाल एकै ठाउँमा बितेन । भारतीय सेनामा कार्यरत बुबाको सरुवाका कारण उनी परिवारसँग विभिन्न सहरमा पुगिन् । पश्चिम बंगालको सिलिगुडीमा स्कुले शिक्षा पूरा गरेपछि उच्च अध्ययनका लागि दिल्ली पुगिन् । 

दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट समाजशास्त्रमा स्नातक र डा. बिआर अम्बेडकर विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी उनी अहिले जेएनयूमा थिएटर तथा प्रस्तुति अध्ययन विषयमा विद्यावारिधि गर्दै छिन् । उनको राजनीतिक यात्राको सुरुआत भने विश्वविद्यालयको मञ्च र सडक नाटकसँग जोडिन्छ । कलेजमा पढ्दा ‘संगवारी’ थिएटर समूहमा आबद्ध भएर अभिनय तथा सडक नाटकमा सहभागी भएकी उनले समाजका फरक वर्गका मानिसका अनुभव बुझ्ने अवसर पाइन् । सामाजिक असमानता र अन्यायप्रतिको चासो बढ्दै जाँदा उनको रुचि राजनीतितर्फ मोडियो । 

सन् २०१९/२० मा नागरिकता संशोधन कानुनविरुद्ध विद्यार्थी आन्दोलन चर्किंदा उनी पनि सडकमा उत्रिइन् । त्यसपछि उनको सक्रियता विद्यार्थी संगठनतर्फ बढ्यो । उनी वामपन्थी विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा)मा आबद्ध भइन् र पछि त्यसको राष्ट्रिय अध्यक्ष बनिन् । 

सैनिक परिवारमा हुर्किएकी युवती वामपन्थी राजनीतिमा लाग्नु उनको जीवनको उल्लेखनीय पक्ष हो । तर नेहा व्यक्तिको राजनीतिक विचार परिवारको पेसा वा पृष्ठभूमिले मात्र निर्धारण नगर्ने बताउँछिन् । विद्यार्थी र श्रमिकले भोग्ने असमानता तथा सरकारी नीतिबाट उत्पन्न समस्याले आफूलाई राजनीतिक रूपमा प्रभावित गरेको उनको भनाइ छ ।

२३ दिनको अनशन

नेहालाई विश्वविद्यालयको घेराबाट बाहिर चिनाउन यस वर्षको विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण भूमिका खेल्यो । परीक्षा प्रणालीमा अनियमितता, प्रश्नपत्र चुहावट र प्रवेश परीक्षासम्बन्धी विवादविरुद्ध दिल्लीको जन्तरमन्तरमा भएको प्रदर्शनमा उनी सहभागी भइन् । शिक्षा प्रणालीमा सुधार र जिम्मेवार पदाधिकारीबाट जवाफ माग्दै उनले अन्य अभियन्तासँगै २३ दिनसम्म अनसनसमेत गरिन् । 

त्यसपछि उनका भाषण सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिन थाले । विद्यार्थीका परीक्षा र शुल्कसम्बन्धी समस्याबाट सुरु हुने उनका अभिव्यक्ति सार्वजनिक शिक्षाको अवस्था, रोजगारी, सामाजिक विभेद र राज्यको जवाफदेहितासम्म पुग्छन् ।

दिल्लीबाहिर पनि उनको सक्रियता देखियो । झारखण्डको राँचीमा सरकारी भर्ती परीक्षासम्बन्धी विवादमा भएको प्रदर्शनका क्रममा उनीमाथि कालो मसी फ्याँकिएको थियो । यस्ता घटनाले उनको चर्चा थप बढायो । 

उनी के चाहन्छिन् ?

नेहाको राजनीतिक धार स्पष्ट रूपमा वामपन्थी हो । उनी भाकपा (माक्र्सवादी–लेनिनवादी) लिबरेसनसँग सम्बन्धित आइसाको नेतृत्वमा छिन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार, भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का नीतिमाथि उनी आलोचनात्मक दृष्टिकोण राख्छिन् । 

उनका मुद्दा भने पार्टीगत विरोधमा मात्र सीमित छैनन् । सार्वजनिक शिक्षाको संरक्षण, परीक्षामा पारदर्शिता, विद्यार्थीलाई समान अवसर, रोजगारीका प्रश्न र श्रमिकका अधिकार उनका प्राथमिकतामा छन् । विद्यार्थी आन्दोलन चर्चामा आउने तर मजदुरका समस्या ओझेलमा पर्ने अवस्थाप्रति पनि उनले प्रश्न उठाउँदै आएकी छन् । 

फरक राजनीतिक विचार भएका समूहसँग साझा मुद्दामा सहकार्य गर्न सकिने उनको धारणा छ । सबै आन्दोलनकारी एउटै पार्टी वा विचारधाराका हुनुपर्छ भन्ने उनी मान्दिनन् । निर्वाचनमा भाग लिनुलाई राजनीतिमा योगदान गर्ने एकमात्र बाटो पनि ठान्दिनन् । सामाजिक आन्दोलन र संगठन निर्माणलाई उनी उत्तिकै महत्त्व दिन्छिन् । 

भारतीय सञ्चारमाध्यममा नेहाबारे मुख्यतः तीन विषयमा चर्चा भइरहेको छ– विद्यार्थी नेताबाट राष्ट्रिय आन्दोलनको अनुहार बनेको उनको यात्रा, पटक–पटकको प्रहरी नियन्त्रण र सरकारविरोधी प्रदर्शनमा उनको सक्रियता । उनको थिएटर पृष्ठभूमि र भिडलाई सम्बोधन गर्ने शैली पनि चासोका विषय बनेका छन् । 

अहिलेको विवाद मतदाता नामावली संशोधनसँग सम्बन्धित छ । आन्दोलनकारीले ठुलो संख्यामा मतदाताको नाम हटाइएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन् । आन्दोलनसँग सम्बन्धित समूहले करिब १३ करोड नाम हटाइएको दाबी गरेका छन् । निर्वाचन आयोग र भाजपाले भने प्रक्रियामा राजनीतिक पक्षपात भएको आरोप अस्वीकार गर्दै आएका छन् । 

यस विवादमा नेहा र अन्य युवा समूह सडकमा छन् । उनी न एक्ली आन्दोलनकारी हुन्, न त सबै समूहकी नेता । आइसा, कक्रोच जनता पार्टीसहित विभिन्न संगठन र स्वतन्त्र युवा प्रदर्शनमा सहभागी छन् । उनीहरूका विचार र संगठनात्मक पृष्ठभूमि फरक भए पनि अहिलेको मुद्दाले धेरैलाई एकै ठाउँमा ल्याएको छ । 

नेहाको राजनीतिक भविष्य कता जान्छ, स्पष्ट छैन । उनी चुनावी राजनीतिमा प्रवेश गर्छिन् वा विद्यार्थी तथा सामाजिक आन्दोलनमै सक्रिय रहन्छिन्, त्यो समयले देखाउनेछ । तर उत्तराखण्डको सैनिक परिवारबाट आएकी, समाजशास्त्र पढेकी र थिएटरमा रुचि राख्ने युवती अहिले भारतको सडक राजनीतिमा किन चर्चित छिन् भन्ने बुझ्न उनको यात्रा पर्याप्त छ । 
रोयटर्स र टाइम्स अफ इन्डियाको सहयोगमा । 

सम्बन्धित खबर