
काठमाडौं : फ्लाई दुबईको एफजेड–१०७३ उडान ३० सेप्टेम्बर बिहान दुबईबाट तेल अभिवका लागि उडेको थियो । विमानभित्र १७४ जना यात्रु र चालक दलका सदस्य थिए । उडान सामान्य रूपमा अघि बढिरहेको अवस्थामा विमान तीव्र गतिमा तल तल झर्यो ।
विमान करिब ३४ हजार फिटबाट केही मिनेटको अवधिमा करिब १५–१७ हजार फिटको आसपास झरेको थियो । त्यसक्रममा विमानले सामान्य आपन्कालीन अवस्थाको संकेत र केही समयपछि विमानमाथि गैरकानुनी हस्तक्षेप भएको संकेत दिने कोड प्रसारण गरेको थियो ।
त्यसपछि तेल अभिवतर्फ जानुपर्ने विमान साउदी अरबको तबुकतर्फ मोडियो ।
अचानक ककपिटबाट आएको घटनाले उडानको दिशा नै बदलियो । दुई पाइलटबीच भएको झडपपछि विमानले केही समयमै असामान्य रूपमा उचाइ गुमाउन थाल्यो । करिब १४ हजार फिट तल झरेपछि विमानमा रहेका यात्रुहरूमा त्रास फैलियो । उडानले आपत्कालीन संकेत प्रसारण ग¥यो र अन्ततः गन्तव्य तेल अभिव पुग्नुअघि साउदी अरबको तबुकतर्फ मोडियो ।
घाइते अवस्थामा पनि क्याप्टेन स्मित मच्छारले ककपिटको ढोका खोल्न सफल नभएको भए यो घटना अझ गम्भीर बन्न सक्थ्यो । त्यसपछि यात्रु तथा चालक दलका सदस्यले भित्र प्रवेश गरेर स्थिति नियन्त्रणमा लिन सहयोग गरेका थिए । विमानमै रहेका अफ–ड्युटीमा रहेका चालक दलका सदस्यहरूले त्यसपछि उडानको नियन्त्रण सम्हाल्न र विमानलाई सुरक्षित रूपमा तबुक पु¥याउन सहयोग गरे ।
करिब एक घण्टाभन्दा लामो समयको तनावपूण स्थितिपछि विमान तबुकको प्रिन्स सुल्तान बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भयो । विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ । पछि उनीहरूलाई अर्को विमानमार्फत तेल अभिव पठाइएको थियो ।
प्रारम्भिक विवरणअनुसार ककपिटमा क्याप्टेन र सहपाइलटबीच झडप भएको थियो । रोइटर्सका अनुसार, सहपाइलटले क्याप्टेनमाथि धारिलो आक्रमण आक्रमण गरेको र त्यसपछि विमानले तीव्र रूपमा तल खस्न थालेको थियो ।
फ्लाई दुबईले घटनाको कारण र उद्देश्यबारे तत्काल निष्कर्षमा नपुग्न आग्रह गरेको छ । संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन निकायले घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याप्टेन मच्छार घाइते भएपछि पनि ककपिटको ढोका खोल्न सफल भएको देखिन्छ । त्यसपछि केही यात्रु र चालक दलका सदस्य ककपिटमा प्रवेश गर्न सके । विमानमा संयोगले अफ–ड्युटी फ्लाई दुबईका चालक दलका सदस्यसमेत यात्रामा थिए । उनीहरूले ककपिटको अवस्था सम्हाल्न र विमानलाई सुरक्षित अवतरणतर्फ लैजान सहयोग गरेका थिए ।
घटनापछि भारतीय क्याप्टेन स्मित मच्छारको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूले पनि उनको साहसको प्रशंसा गरेको समाचार छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मच्छार महाराष्ट्रको मुम्बईस्थित घाटकोपरका हुन् । उनले व्यावसायिक उडान करिअर स्पाइसजेटबाट सुरु गरेका थिए । सन् २०११ मा स्पाइसजेटमा प्रवेश गरेका उनी त्यहाँ करिब ११ वर्ष कार्यरत रहे र सिनियर क्याप्टेनसम्म पुगे ।
सन् २०२० नोभेम्बरदेखि उनी लाइन ट्रेनिङ क्याप्टेनको भूमिकामा समेत थिए । यस्तो भूमिकामा पाइलटलाई प्रशिक्षण दिने र उनीहरूको उडान क्षमताको मूल्यांकन गर्ने जिम्मेवारी हुन्छ । सन् २०२२ जुनमा उनी फ्लाई दुबईमा डाइरेक्ट इन्ट्री क्याप्टेनका रूपमा जोडिएका थिए । उनको सार्वजनिक व्यावसायिक प्रोफाइलमा बोइङ ७३७–८०० र ७३७ म्याक्स विमानमा करिब ९ हजार ७५० घण्टाको उडान अनुभव रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्पाइसजेटमै उनले ६ हजार ४०० घण्टाभन्दा बढी पाइलट–इन–कमाण्डका रूपमा उडान गरेका छन् ।
तबुकमा अवतरणपछि मच्छारलाई अस्पताल लगिएको थियो । भारतीय दूतावासले उनी उपचाररत रहेको र अवस्था स्थिर रहेको जनाएको छ । घटनामा संलग्न सहपाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन् ।