
काठमाडौँ : अस्ट्रेलियामा घर निर्माण कार्यमा उल्लेख्य वृद्धि देखिएको छ । आधिकारिक तथ्यांक अनुसार, सन् २०२६ को जुन त्रैमासिकमा अस्ट्रेलियाभरि आवास निर्माण शुरु हुने दर ७.० प्रतिशतले बढेको छ ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस अवधिमा कुल ५२ हजार २०१ आवासीय भवनहरूको निर्माण कार्य प्रारम्भ भएको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १४.४ प्रतिशतले बढी हो ।
विशेषगरी निजी क्षेत्रबाट हुने घर निर्माणमा व्यापक सुधार देखिएको छ । अघिल्लो त्रैमासिकको तुलनामा ११.६ प्रतिशतले वृद्धि भई ३१ हजार ७०७ नयाँ निजी घर निर्माण शुरु भएका छन्, जुन गत वर्षको तुलनामा २०.७ प्रतिशतले बढी हो । अर्कोतर्फ, अपार्टमेन्ट र टाउनहाउस जस्ता अन्य आवासीय भवनहरूको निर्माणमा भने स्थिर अवस्था देखिएको छ । यस क्षेत्रमा निर्माण कार्य ०.१ प्रतिशतले घटेर १९ हजार १२६ मा सीमित रहे पनि वार्षिक आधारमा ४.६ प्रतिशतको वृद्धि कायम छ ।
राज्यगत रूपमा हेर्दा, भिक्टोरिया १६ हजार २३९ निर्माण कार्यका साथ अग्रस्थानमा रहेको छ भने क्विन्सल्याण्डमा ११ हजार ६७१, न्यू साउथ वेल्समा ११ हजार २५२, पश्चिम अस्ट्रेलियामा ७ हजार २४० र दक्षिण अस्ट्रेलियामा ३ हजार ९१३ वटा आवास निर्माण कार्य सुरु भएका छन् ।
कुल निर्माण कार्यको मूल्य समेत १.१ प्रतिशतले वृद्धि भई ४५.८ अर्ब अस्ट्रेलियन डलर पुगेको छ । यसले अस्ट्रेलियाको निर्माण उद्योगमा सक्रियता बढेको र निर्माणधीन अवस्थामा रहेका आवासीय घरहरूको संख्या समेत २ लाख ४८ हजार ७३३ पुगेको बताइएको छ ।