२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

माइजोगमाईमा बिमाको पहुँच विस्तार गर्न प्राधिकरणको पहल

Nada
२०८३ मंसिर ८ गते १९:५०
Shares
माइजोगमाईमा बिमाको पहुँच विस्तार गर्न प्राधिकरणको पहल

विराटनगर : स्थानीय नागरिकलाई बिमाको दायरामा ल्याउने तथा कृषि र पशुपन्छी बिमाको पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल बिमा प्राधिकरणले इलामको माइजोगमाई गाउँपालिकामा बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नेपाल बिमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा बिमाको आवश्यकता, महत्व, बिमा दाबी प्रक्रिया, बीमितको अधिकार तथा कृषि र पशुपन्छी बिमाको प्रभावकारी कार्यान्वयनबारे छलफल गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले बिमालाई नागरिकको आर्थिक सुरक्षा र जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताए । उनले गाउँपालिकाका सरकारी भवन, सवारीसाधन तथा अन्य सम्पत्तिको बिमा गर्ने र स्थानीय नागरिक, कृषक तथा पशुपालकलाई समेत बिमाको दायरामा समेट्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

गाउँपालिकाका उपाध्यक्ष प्रविना राईले ग्रामीण क्षेत्रमा बिमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन् । विशेषगरी कृषक तथा पशुपालकलाई लक्षित गरी कृषि र पशुपन्छी बिमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्यले स्थानीय तहबाट बिमा कार्यक्रमको प्रवद्र्धन र कार्यान्वयनमा गर्न सकिने सहयोगका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपाल बिमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले स्थानीय सरकारसँगको समन्वयमा बिमाको पहुँच विस्तार गर्ने योजना रहेको बताए । उनले गाउँपालिकाका सम्पत्ति, कर्मचारी तथा स्थानीय नागरिकको दुर्घटना बिमालाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउनुपर्ने उल्लेख गरे ।

महर्जनले स्थानीय तहलाई क्रमशः बिमाको पहुँचमा ल्याउने उद्देश्यले प्राधिकरणले ग्रामीण स्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रमले स्थानीय नागरिकमा बिमासम्बन्धी जानकारी अभिवृद्धि गर्नुका साथै कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तार, दाबी प्रक्रियामा सहजीकरण र स्थानीय सरकार तथा बिमा क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्राधिकरणका कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, सहकारीकर्मी, स्थानीय उद्यमी तथा विभिन्न सरोकारवालाको सहभागिता थियो । कार्यक्रमको सञ्चालन प्राधिकरणको कोशी प्रदेश कार्यालयकी सहायक निर्देशक सविता झाले गरेकी थिइन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर