२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

एनआरएनए मध्यपूर्व सम्मेलनलाई पूर्वअध्यक्ष आरके शर्माको आर्थिक सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८३ मंसिर ८ गते २०:५७
Shares
एनआरएनए मध्यपूर्व सम्मेलनलाई पूर्वअध्यक्ष आरके शर्माको आर्थिक सहयोग

दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) ले कतारमा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई इभेन्ट पार्टनरका रूपमा आर्थिक सहयोग गरेका छन् । आगामी डिसेम्बर ११ र १२ मा दोहामा हुने सम्मेलनका लागि शर्माले सहयोग गरेका हुन् ।

आयोजकले उनको सहयोगप्रति आभार व्यक्त गर्दै मध्यपूर्वमा संस्थागत एकता, सहकार्य र गैरआवासीय नेपाली अभियानको सुदृढीकरणमा उनले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेको छ ।

‘सुरक्षित वैदेशिक रोजगारी, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका अधिकार, सुरक्षित आप्रवासन, सामाजिक संरक्षण र आर्थिक अवसरका विषयमा छलफल हुनेछ ।

सम्मेलनका लागि आयोजकले आठ श्रेणीका प्रायोजन प्याकेज सार्वजनिक गरेको छ । जसअनुसार मुख्य प्रायोजकका लागि ३० हजार, सहप्रायोजकका लागि २० हजार, प्लाटिनम प्रायोजनका लागि १२ हजार र डायमण्ड प्रायोजनका लागि पाँच हजार कतारी रियाल शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै, गोल्ड प्रायोजनका लागि तीन हजार, सिल्भरका लागि दुई हजार र सहयोगी प्रायोजनका लागि एक हजार कतारी रियाल तोकिएको छ । यी प्रत्येक श्रेणीमा २० वटा कोटा राखिएको छ । राष्ट्रिय समन्वय परिषद्हरूका लागि भने तीन हजारदेखि पाँच हजार कतारी रियालसम्मको सहयोग श्रेणी निर्धारण गरिएको छ ।

प्रायोजनअनुसार साझेदारलाई निःशुल्क प्रतिनिधि दर्ता, ब्यानर, प्रदर्शनी कक्ष, प्रस्तुतीकरण तथा सम्मेलनको वेबसाइट र प्रचार सामग्रीमा संस्थाको प्रतीक चिह्न राख्नेलगायत सुविधा उपलब्ध गराइने मध्यपूर्व संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

सम्मेलनले मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या पहिचान गर्दै सुरक्षित वैदेशिक रोजगारी र श्रमिकको हितका विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर