२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

उपत्यकामा एकैदिन ७७४ सवारीचालक कारबाहीमा

Nada
२०८३ मंसिर ८ गते १४:३०
Shares
उपत्यकामा एकैदिन ७७४ सवारीचालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने १२६ जना  छन् ।

त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने दुई जना कारबाहीमा परेका छन् ।

अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ४९० जनालाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । 

कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिवानासहितको कारबाही गरिएको उनले बताए ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानीलाई तीव्रता दिँदै आएको छ ।

प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ ।

सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रुसहित सडक प्रयोग गर्ने सबैको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर