२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

प्रधानमन्त्रीको भारत भ्रमण : विवाद थाती राख्दै नयाँ समझदारी

Nada
जीवन शर्मा
२०८३ मंसिर ८ गते ०६:३०
Shares
प्रधानमन्त्रीको भारत भ्रमण : विवाद थाती राख्दै नयाँ समझदारी

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमण सकेर सोमबार साँझ भारतबाट स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको भ्रमणमा हवाईमार्ग, रेल, ऊर्जा, पूर्वाधार, पारवहन, शिक्षा र विकास साझेदारीका क्षेत्रमा विभिन्न समझदारी भएका छन् ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भएको उच्चस्तरीय वार्तापछि २४ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ । दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’को साझा परिकल्पना अघि सारेका छन् । भ्रमणका क्रममा विभिन्न क्षेत्र समेटिएका आठवटा समझदारीपत्र (एमओयु) आदानप्रदान गरिएको छ भने संयुक्त दृष्टिपत्र पनि सार्वजनिक गरिएको छ ।

नेपाल–भारत सम्बन्धको ऐतिहासिक आधारलाई थप सुदृढ बनाउने विषयमा गहन, सार्थक र दूरगामी छलफल भएको प्रधानमन्त्री शाहले बताएका छन् । समझदारी र परियोजनाको प्रतिफल नागरिकले प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्नेमा उनले जोड दिएका छन् । ‘हामीले आज गरेका समझदारी र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ,’ प्रधानमन्त्री शाहले भने, ‘यो समझदारीले युवाका हातमा रोजगारी पुग्नुपर्‍यो ।’

समझदारीको प्रतिफल विद्यार्थी, उद्यमी र आमनागरिकसम्म पुग्नुपर्ने उनको भनाइ छ । ‘विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ, र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ उनले भनेका छन् ।

भ्रमणका क्रममा भारतीय पक्षले प्रधानमन्त्री शाहलाई उच्च सम्मान दिएको थियो । भारतले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसको सरकारसँग सम्बन्ध विस्तार गर्न चासो देखाएको थियो । भारतीय चाहनाअनुसार नै प्रधानमन्त्री शाहको भ्रमण तय भएको थियो । सरकारले भने यस भ्रमणलाई छिमेकीसँगको सम्बन्ध सुधार र आर्थिक तथा पूर्वाधार विकासमा नयाँ उपलब्धिका रूपमा व्याख्या गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक लयमा फर्काएको दाबी गरेका छन् । उनका अनुसार दुई देशका नागरिकबीच भौतिक तथा डिजिटल सम्पर्क विस्तार गर्न दुवै प्रधानमन्त्री सहमत भएका छन् । ‘नेपाल–भारतका सम्बन्धलाई परिणाममुखी बनाउन दुवै प्रधानमन्त्रीले दुई देशका नागरिकको फिजिकल तथा डिजिटल कनेक्टिभिटीमा महत्त्वपूर्ण सहकार्य अघि बढाउने सहमति भएको छ,’ मन्त्री खनालले भने ।

विगतमा दुवै देशले आ–आफ्नो धारणा सार्वजनिक गर्ने परम्परा रहेकामा यसपटक संयुक्त वक्तव्य जारी हुनु सहमति कार्यान्वयनका दृष्टिले महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीस्तरीय छलफलमा सीमा समस्याबारे पनि कुराकानी भएको उनले बताए । ‘यो भ्रमणले पुराना सन्धि सम्झौतालाई नयाँ दृष्टिकोणबाट अघि बढाउने बाटो खुलेको छ,’ उनले भने, ‘विगतदेखि सीमा सम्बन्धमा उठेका आवाजलाई सम्बोधन गर्न विद्यमान प्रगतिको अध्ययनका लागि दुवै देशका विदेश सचिवलाई दुवै प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।’

यद्यपि, भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयनको अवस्था र त्यसले दिने परिणामले मात्रै नयाँ सरकारको सफलता मापन गर्न सकिने विज्ञहरूको भनाइ छ । सीमा समस्या समाधान, ठुला आयोजनाको निरन्तरता र नयाँ परियोजनाको कार्यान्वयनका विषयमा अहिले नै सफल वा असफल भन्न सकिने अवस्था नरहेको पूर्वराजदूत आचार्य बताउँछन् ।

विपक्षी र विज्ञको मिश्रित प्रतिक्रिया

विपक्षी दलहरूले प्रधानमन्त्रीको भारत भ्रमणलाई विगतका भ्रमणकै निरन्तरताका रूपमा टिप्पणी गरेका छन् । नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले विगतमा सुरु भएका आयोजनामा वार्ता, शिलान्यास र सम्पन्न आयोजनाको उद्घाटनबाहेक खासै नयाँ उपलब्धि नभएको टिप्पणी गरे । ‘विगतको भारी बोक्दिनँ भन्ने अनि विगतमा अघि बढेका सबै आयोजना उद्घाटन गर्ने उहाँहरूको भनाइ र गराइबीच तालमेल मिलेन,’ भट्टराईले भने ।

आफू मेयर हुँदा सीमालगायत नेपालका विषयमा प्रधानमन्त्री शाहले राखेको अवधारणाको नजिकसमेत अहिले पुग्न नसकेको उनको दाबी छ ।

पूर्वराजदूत नीलाम्बर आचार्यले पनि भ्रमणमा सीमा विवाद र प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन कार्यान्वयनको विषयले प्राथमिकता नपाएको बताए । प्रधानमन्त्री शाह र मोदीबीचको छलफलबाट राजनीतिक तथा कूटनीतिक क्षेत्रमा अपेक्षित ‘ब्रेक थ्रु’ हुन नसकेको उनको टिप्पणी छ ।

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने भनिए पनि विगतका भ्रमणभन्दा तात्त्विक फरक नदेखिएको उनले बताए । ‘दुई देशका प्रधानमन्त्रीबीच ‘वान–अन–वान’ वार्ता भएपछि राजनीतिक क्षेत्रका केही जटिल विषयहरू सुल्झिनुपथ्र्यो,’ आचार्यले मध्यान्हसँग भने, ‘सीमा विवादसम्बन्धी नेपाल–भारत विज्ञ समूहले बनाएको इपिजीको प्रतिवेदन भारतीय पक्षबाट अस्वीकार हुँदै आएको छ । त्यस विषयमा नेपालका प्रधानमन्त्रीले स्पष्ट राख्न सक्नुभएन ।’

बर्सौंदेखि यथावत् रहेको सीमा विवादमा प्रगति नहुनुलाई उपलब्धि मान्न नसकिने उनको भनाइ छ । राजनीतिक विषयमा गाँठो नफुके पनि भोटेकोशी बाढीपछिको भारतीय सहयोग, हवाई रुट र अयोध्या–जनकपुर रेल सञ्चालनजस्ता विषयले दुई देशको सम्बन्धमा सकारात्मक योगदान पुर्‍याउने उनले बताए ।

तर, इपिजीको प्रतिवेदन र नेपालको बढ्दो व्यापार घाटाबारे छलफल नभएकोमा उनले प्रश्न उठाए । ‘दुई देशका विदेश सचिवलाई सीमाका विषयमा अध्ययन गर्न दिने भन्ने विषय कुनै राजनीतिक वा कूटनीतिक सहमतिको विषय होइन, त्यो प्राविधिक कुरा हो,’ उनले भने ।

सन् १९५० को सन्धिको पुनरावलोकनको विषय लामो समयदेखि उठ्दै आए पनि त्यसमा निकास दिने खालको सहमति वा संवाद हुन नसकेको आचार्यको भनाइ छ ।

रेल र ऊर्जा क्षेत्रमा सहकार्य

भ्रमणका क्रममा अयोध्या र जनकपुरबीच सञ्चालन हुने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको दुवै प्रधानमन्त्रीले हरियो झन्डा देखाएर शुभारम्भ गरेका छन् । यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्धन गर्ने विश्वास गरिएको छ । बुद्ध र शिव–शक्ति पर्यटन सर्किटमा पनि यस्तै सञ्जाल विकास गर्ने सहमति भएको छ ।

प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीकृत ब्रोडगेज रेलमार्गको ‘फिल्ड लोकेसन सर्वेक्षण’ सम्पन्न भएको घोषणा गरिएको छ । नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा समेत दुवै पक्षले सहकार्य गर्ने भएका छन् ।

नेपालको पारवहन व्यापारका लागि भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला)बाट नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने सहमति भएको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिनेछ ।

कूटनीतिज्ञ मृगेन्द्र कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमूलक मानेका छन् । ‘विगतदेखिको नेपाल–भारत सम्बन्धलाई प्रधानमन्त्रीस्तरीय भ्रमणमा भएका समझदारीले अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने, ‘भोटेकोशीको विपद्का भारतले घोषणा गरेको सहयोग, धार्मिक पूर्वाधार विकास र शिक्षाको क्षेत्रमा देखाएको चासो सकारात्मक छ ।’

भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले धार्चुला (भारत) र दार्चुला (नेपाल) जोड्ने नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन गरेका छन् । वनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी (आइसिपी)को भर्चुअल माध्यमबाट शिलान्यास गरिएको छ । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन आइसिपीको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् ।

ऊर्जा क्षेत्रमा पनि महत्त्वपूर्ण सहमति भएका छन् । दुवै नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) शीघ्र टुंग्याएर कार्यान्वयन सुरु गर्न निर्देशन दिइएको छ । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डिपिआर निर्माणलाई तीव्रता दिने सहमति पनि भएको छ । परराष्ट्रविद् डा. दिनेश भट्टराई पनि प्रधानमन्त्री शाहको भारत भ्रमण उपलब्धिमूलक भएको बताउँछन् ।

laxmi recruitement

सम्बन्धित खबर