२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

प्रधानमन्त्री शाहको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल

Nada
२०८३ मंसिर ७ गते २०:२७
Shares
प्रधानमन्त्री शाहको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण बहुआयामिक हिसावले सफल र उपलब्धीमुलक भएको बताएका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहको दुई दिने राजकीय भ्रमणबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।

उनकाअनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीबीच दुई देशबीच पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाल लगायतका महत्वपूर्ण विषयमा सहमति भएका छन् । परराष्ट्रमन्त्री खनालले भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने समझदारी भएको बताए ।

आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच उपलब्ध गराइने उनले जानकारी दिए । उनले दुवै देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेको समेत जानकारी दिए ।

मन्त्री खनालले प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षण अन्तिम रूप दिनुका साथै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि समेत दुवै देशले सहकार्य गर्ने सहमति भएको बताए । उनले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास गरिएको तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) शीघ्र अन्तिम रूप दिन तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको अध्ययन तिब्र पार्न दुवै पक्ष सहमत भएको समेत जानकारी दिए ।

उनकाअनुसार इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली सीमापार विद्युत प्रशारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् । मन्त्री खनालले भ्रमणका क्रममा भैरहवा, सुनौली र दोधारा–चाँदनीमा आइसिपी निर्माणलाई तिव्रता दिनुका साथै भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको समेत उद्घाटन गरिएको समेत बताए ।

त्यसैगरी भ्रमणका क्रममा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरी नेपाली जनतालाई समर्पण गरिएको तथा झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको समेत मन्त्री खनालले जानकारी दिए । उनका अनुसार काठमाडौं–भैरहवा–लखनउ दुईतफी हवाई सञ्चालनका लागि समेत भारत सहमत भएको छ ।

उनले प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार तथा नेपालको बहुआयामिक विकासमा सहकार्यको लागि कोशेढुंगाा भएको विश्वास व्यक्त गरे । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार साँझ स्वदेश फर्किएको हो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर