२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

सीमावर्ती व्यापार विस्तारमा जोड

Nada
लालबाबु बानिया
२०८३ मंसिर ७ गते २१:३२
Shares
सीमावर्ती व्यापार विस्तारमा जोड

पर्सा : पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउँदै सीमावर्ती क्षेत्रका नागरिकको आवागमन र व्यापार सहज बनाउनुपर्नेमा जोड दिएका छन् । 

प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा शुभकामना व्यक्त गर्दै सांसद शाक्यले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको सांस्कृतिक, पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताएका हुन् ।

उनले पर्साको भिस्वा, जानकीटोला र सिक्टा नाकासँग जोडिएका भारतीय बजार पश्चिम चम्पारणको सिक्टा तथा इनर्वासँगको व्यापारिक सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । सीमावर्ती क्षेत्रका नागरिकको व्यापार, आवतजावत र आर्थिक गतिविधिलाई सहज बनाउने वातावरण निर्माण गर्न दुवै देशका सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेपाल–भारत सम्बन्ध कूटनीतिक तहमा मात्र सीमित नभई जनस्तरमा समेत गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले वर्षौंदेखि कायम रहेको ‘रोटी–बेटी’को सम्बन्धलाई निरन्तर बलियो बनाइराख्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीच आपसी विश्वास, सहकार्य र व्यापारिक साझेदारी अभिवृद्धि गर्नुका साथै सीमावर्ती क्षेत्रका नागरिकको हितमा सकारात्मक परिणाम ल्याउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

यसैबीच, सांसद शाक्यले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई फूलमाला लगाएर स्वागत गरेका थिए । सीमामा नागरिकको आवागमन सहज र मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने सन्देशसहित उनले सुरक्षाकर्मीलाई स्वागत गरेका हुन् । 

स्वागत कार्यक्रममा क्षेत्रीय सभापति जितेन्द्र मिश्र, परशुराम साह, सुधिल पटेल, राजु पटेल, सन्तोष पटेल, सुरेन्द्र पटेल, रञ्जित साह, कृष्णमोहन यादव, मनोज केवटलगायत स्थानीय तथा जेनजी युवाहरूको सहभागिता थियो ।

सांसद शाक्यले नेपाल–भारत मैत्री सम्बन्ध अझ प्रगाढ हुँदै जाओस् र सीमावर्ती जनताको हितमा दुवै देशबीच सहकार्य विस्तार होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर