
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौं उपत्यकाको महत्त्वपूर्ण जलाधार क्षेत्र हो । यहाँका मुहानबाट उपत्यकाका विभिन्न बस्तीमा खानेपानी आपूर्ति हुँदै आएको छ । निकुञ्जले उपत्यकाको करिब ४० प्रतिशत पिउने पानीको स्रोत उपलब्ध गराउने गरेको उल्लेख छ । त्यसैले शिवपुरीका जलस्रोतको संरक्षण र न्यायोचित वितरण उपत्यकाको खानेपानी सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो ।
तर, शिवपुरीका मुहानबाट पानी प्राप्त गर्ने बुढानीलकण्ठ नगरपालिकाको पासिकोटलगायत क्षेत्रमा खानेपानीको सहज पहुँच अझै चुनौतीपूर्ण छ । कतिपय बासिन्दाले लामो समयदेखि धारा जडानका लागि प्रतीक्षा गर्नुपरेको, महसुल र जडान शुल्कमा एकरूपता नभएको तथा सेवा प्राप्तिमा कठिनाइ भोग्नुपरेको गुनासो गर्दै आएका छन् । प्राकृतिक स्रोत नजिकै भएर पनि उपभोक्ताले पर्याप्त र नियमित पानी नपाउनु व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न हो ।
पासिकोट क्षेत्रमा विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत पानी वितरण हुँदै आएको छ । समुदायको सहभागितामा सञ्चालित यस्ता संस्थाले स्थानीय स्तरमा खानेपानी व्यवस्थापनमा भूमिका खेल्दै आएका छन् । तर, समयक्रममा ती संस्थाको सञ्चालन, नेतृत्व चयन, आर्थिक पारदर्शिता र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
एउटै नगरपालिकाभित्र रहेका समितिहरूले फरक–फरक महसुल र धारा जडान शुल्क लिने गरेको स्थानीय उपभोक्ताको गुनासो छ । शुल्क निर्धारणको स्पष्ट आधार र सार्वजनिक जानकारी नहुँदा उपभोक्तामा अन्योल र असन्तुष्टि बढ्न सक्छ । पानीको स्रोत, वितरण प्रणाली र सञ्चालन खर्चका आधारमा वैज्ञानिक ढंगले महसुल निर्धारण गर्नु आवश्यक छ ।
नयाँ घर निर्माण गर्ने वा बसोबासका लागि आउने परिवारलाई धारा जडानमा कठिनाइ हुने गरेको पनि स्थानीयको भनाइ छ । कतिपयले बर्सौंसम्म धारा नपाएको र जडानका लागि ठुलो रकम खर्च गर्नुपरेको अनुभव सुनाउने गरेका छन् । कतिपय अवस्थामा जडान शुल्क ८० हजार रुपैयाँसम्म पुगेको दाबी गरिएको छ । यस्ता शुल्कको आधिकारिक दर, बिल र खर्चको विवरण सार्वजनिक नहुँदा उपभोक्ताको अधिकार र संस्थाको जवाफदेहिताबारे प्रश्न उठ्छ ।
खानेपानी आधारभूत आवश्यकता भएकाले धारा जडान र महसुल निर्धारणमा पहुँचका आधारमा भेदभाव हुनु हुँदैन । उपभोक्ताले तोकिएको प्रक्रिया पूरा गरेपछि निश्चित समयभित्र सेवा पाउने व्यवस्था हुनुपर्छ । साथै, शुल्क र सेवा सर्त सबैका लागि स्पष्ट र समान रूपमा लागू हुनुपर्छ ।
नियमनका लागि कानुनी आधार
बुढानीलकण्ठ नगरपालिकाले २०८१ असार ३० गते ‘एकीकृत खानेपानी बोर्ड सञ्चालन ऐन, २०८१’ प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित गरेको थियो । ऐनले नगर क्षेत्रका खानेपानी स्रोतको पहिचान, संरक्षण, संवर्धन र वितरणलाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ ।
ऐनको दफा २८(३) अनुसार ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका उपभोक्ता बोर्ड वा समितिले ६ महिनाभित्र नगरपालिकामा सूचीकृत हुनुपर्ने व्यवस्था छ । त्यस्तै, दफा ९ ले नगरभरि एकीकृत महसुल निर्धारण, उपभोक्ता समितिको अनुगमन तथा नियमन र आवश्यक अवस्थामा सञ्चालन अनुमति रद्द गर्नेसम्मको अधिकार एकीकृत खानेपानी व्यवस्थापन बोर्डलाई दिएको छ ।
यो व्यवस्थाले नगरभित्र खानेपानी वितरणमा एकरूपता कायम गर्न र सेवाप्रदायकलाई जवाफदेही बनाउन आधार तयार गरेको छ । तर, कानुन जारी हुनु मात्र पर्याप्त हुँदैन । त्यसअनुसार समितिको दर्ता, नियमित अनुगमन, आर्थिक विवरण सार्वजनिक गर्ने व्यवस्था र उपभोक्ताको गुनासो सुनुवाइ प्रभावकारी हुनुपर्छ ।
ऐनले बोर्ड गठनको व्यवस्था गरे पनि त्यसको संरचना र निर्णय प्रक्रियामा सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्नु उत्तिकै महत्त्वपूर्ण छ । बोर्डमा खानेपानीसम्बन्धी प्राविधिक ज्ञान, उपभोक्ताको प्रतिनिधित्व र समावेशितालाई महत्त्व दिनुपर्छ । नियमन गर्ने निकाय आफैं पारदर्शी र जवाफदेही भए मात्र कानुनको उद्देश्य पूरा हुन सक्छ ।
पारदर्शी महसुल र मिटर प्रणाली
खानेपानी महसुलको विषयमा उपभोक्ता र सेवा प्रदायकबीच स्पष्ट समझदारी आवश्यक छ । पानीको उत्पादन, प्रशोधन, वितरण, मर्मतसम्भार र व्यवस्थापनमा लाग्ने वास्तविक खर्चका आधारमा शुल्क निर्धारण गरिनुपर्छ । शुल्क निर्धारण गर्दा उपभोक्ताको आर्थिक अवस्था र न्यून आय भएका परिवारको क्षमतालाई पनि ध्यान दिनुपर्छ ।
पानी मिटर जडानले वास्तविक खपत मापन गर्न र त्यसका आधारमा महसुल निर्धारण गर्न सहयोग पु¥याउन सक्छ । यसले पानीको अनावश्यक प्रयोग घटाउन र वितरण प्रणालीमा पारदर्शिता बढाउन पनि मद्दत गर्छ । तर, मिटर प्रणाली लागू गर्दा न्यून आय भएका परिवारमा थप आर्थिक भार नपर्ने गरी शुल्क र सहुलियतको व्यवस्था गर्नुपर्छ । परम्परागत सामुदायिक व्यवस्थापन प्रणालीबाट मिटरमा जाने प्रक्रियामा उपभोक्तासँग छलफल र पर्याप्त जानकारी आवश्यक हुन्छ ।
खानेपानी तथा सरसफाइ नियमावली, २०८१ ले सेवा प्रदायकको अनुमतिपत्र, महसुल र नियमनसम्बन्धी व्यवस्था गरेको छ । सम्बन्धित तहका सरकारसँग समन्वय गरी सेवा सञ्चालन गर्नुपर्ने कानुनी प्रावधानको पालना गराउनु आवश्यक छ । यसका लागि नगरपालिका, वडा कार्यालय र सम्बन्धित सरकारी निकायबीच जिम्मेवारी स्पष्ट हुनुपर्छ ।
शिवपुरीका मुहानबाट पानी वितरण गर्दा तत्कालीन माग मात्र होइन, दीर्घकालीन उपलब्धतालाई पनि ध्यान दिनुपर्छ । वन विनाश, भूक्षय, अतिक्रमण र जलवायु परिवर्तनले जलाधार क्षेत्रको पानी संकलन तथा पुनर्भरणमा असर पार्न सक्छ । त्यसैले मुहान र वन क्षेत्रको संरक्षण, वर्षाको पानी संकलन, भूमिगत जल पुनर्भरण तथा पानीको मितव्ययी प्रयोगलाई प्राथमिकता दिनुपर्छ ।
जलस्रोतको दिगो उपयोगका लागि कति पानी उपलब्ध छ, कति निकासी भइरहेको छ र कुन क्षेत्रमा कति आवश्यक छ भन्ने तथ्यांक नियमित रूपमा अद्यावधिक हुनुपर्छ । उपलब्ध स्रोतको वैज्ञानिक मूल्यांकनबिना पानी वितरण विस्तार गर्दा भविष्यमा स्रोतमा थप दबाब पर्न सक्छ ।
अबको प्राथमिकता उपभोक्ता अधिकार
पासिकोटका उपभोक्ताको समस्या समाधानका लागि नगरपालिकाले सबै समितिको अवस्था, दर्ता, सेवा क्षेत्र, उपभोक्ता संख्या, महसुल र आर्थिक विवरण संकलन गर्नुपर्छ ।
समितिहरूको नियमित साधारण सभा, पारदर्शी निर्वाचन, अनिवार्य लेखापरीक्षण र सार्वजनिक सुनुवाइको व्यवस्था प्रभावकारी बनाउनुपर्छ । धारा जडानका लागि स्पष्ट मापदण्ड र समयसीमा तोक्नुपर्छ । शुल्कको दर सार्वजनिक गरी प्रत्येक भुक्तानीको आधिकारिक रसिद उपलब्ध गराउनुपर्छ ।
त्यस्तै, उपभोक्ताका गुनासो दर्ता र समाधानका लागि सहज संयन्त्र बनाउनुपर्छ । पानीको गुणस्तर परीक्षण, नियमित आपूर्ति र सेवा अवरुद्ध हुँदा जानकारी दिने व्यवस्था पनि सेवा प्रदायकको जिम्मेवारीभित्र पर्नुपर्छ ।
शिवपुरीका जलस्रोत कुनै एक संस्था वा समुदायको मात्र सम्पत्ति होइनन् । ती उपत्यकाका वर्तमान र भावी पुस्ताका लागि महत्त्वपूर्ण प्राकृतिक सम्पदा हुन् । तिनको संरक्षण गर्दै उपलब्ध पानीको न्यायोचित वितरण गर्नु राज्य, स्थानीय सरकार, सेवा प्रदायक र उपभोक्ता सबैको साझा जिम्मेवारी हो ।
बुढानीलकण्ठ नगरपालिकाको एकीकृत खानेपानी बोर्ड सञ्चालन ऐन, २०८१ यस दिशामा महत्त्वपूर्ण कानुनी आधार बन्न सक्छ । तर, यसको प्रभावकारिता कार्यान्वयन, नियमित अनुगमन र सार्वजनिक जवाफदेहितामा निर्भर छ । पासिकोटका नागरिकले सहज रूपमा स्वच्छ पानी पाउनु, उचित शुल्क तिर्नु र सेवा प्रवाहबारे जानकारी पाउनु सुनिश्चित हुनु नै खानेपानी व्यवस्थापनको मुख्य लक्ष्य हुनुपर्छ ।