
शिक्षामा स्वदेशी चेतना भन्नाले देशको सामाजिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक मूल्य, मान्यता र आदर्शको ज्ञान भएको शिक्षा प्रणाली बुझिन्छ । शिक्षित नागरिकमा देशप्रतिको माया, विविध भाषा, संस्कृति, संस्कार, चाडपर्व र भेषभूषाको सहअस्तित्व स्वीकार गर्न सक्ने फराकिलो सोच तथा जन्मभूमिप्रतिको अपनत्व विकास हुनु आवश्यक छ । त्यसका लागि शिक्षाको जरा देशको माटोमा गहिरोसँग फैलिएको हुनुपर्छ ।
शिक्षाले राष्ट्रिय मूल्य र पहिचान बोकेको हुनुपर्छ । राष्ट्रियता भूगोलसँगको सम्बन्ध मात्र होइन, त्यस भूगोलभित्रको विविधता, इतिहास, भाषा, संस्कृति, सामाजिक एकता, सद्भाव र सहिष्णुतासँगको नाता पनि हो । आफ्ना भाषा, संस्कृति, सभ्यता र सामाजिक मूल्यको संरक्षण तथा संवद्र्धन गर्न सक्ने शिक्षाले मात्र स्वदेशी चेतनाको विकास गर्न सक्छ । शिक्षाले व्यक्तिको चेतना, समाजको चरित्र र राष्ट्रको भविष्य निर्माण गर्ने भएकाले यसको आधार स्वदेशीपनमा हुन आवश्यक छ ।
यद्यपि समाजको परिवर्तनसँगै शिक्षामा पनि परिवर्तन आउँछ । अहिले हामी भूमण्डलीकरणको युगमा छौँ । विश्वव्यापीकरणले ज्ञान, सीप, पुँजी, प्रविधि र अवसरलाई भौगोलिक सीमाभन्दा पर पुर्याएको छ । कुनै पनि देश विश्वमा विकसित भइरहेका ज्ञान र प्रविधिबाट अलग रहेर अघि बढ्न सक्दैन । त्यसैले शिक्षा पनि विश्वव्यापी ज्ञान र अवसरसँग जोडिनुपर्छ ।
आजको शिक्षाले विद्यार्थीलाई आफ्नो समाज, संस्कृति र माटोसँग गहिरो सम्बन्ध स्थापित गराउँदै विश्वस्तरीय ज्ञान, प्रविधि, प्रतिस्पर्धा र सहकार्यका लागि सक्षम बनाउनुपर्छ । विश्वका उत्कृष्ट शैक्षिक अभ्यास, अनुसन्धान, डिजिटल प्रविधि, नवीन ज्ञान र नवप्रवर्तनबाट हाम्रा शिक्षालय अलग रहन सक्दैनन् । त्यसैले शिक्षाको जरा देशको माटोमा गाडिएको र यसको दृष्टि विश्वतर्फ फैलिएको हुनुपर्छ ।
शिक्षामा राष्ट्रिय भावनाको विकास पनि उत्तिकै महत्त्वपूर्ण छ । देशप्रतिको माया, अपनत्व र जिम्मेवारीबोध नै राष्ट्रियताको आधार हो । राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वाभिमान, सीमा सुरक्षा र सामाजिक एकता राष्ट्रिय मूल्यका महत्त्वपूर्ण पक्ष हुन् । नागरिकमा राष्ट्रप्रतिको जिम्मेवारी र अपनत्वको भावना विकास भएमा समाज राष्ट्रिय हितका विषयमा सजग र एकताबद्ध बन्न सक्छ । स्वदेशी चेतनामा आधारित शिक्षाले विविध समुदायबीच आपसी सम्मान, सद्भाव र मेलमिलापको भावना बलियो बनाउँछ ।
तर स्वदेशीपनमा आधारित शिक्षा भन्नाले पुराना मान्यता र परम्परालाई जस्ताको त्यस्तै निरन्तरता दिनु होइन । शिक्षा संस्कृति र परम्पराको संवाहक मात्र होइन, तिनलाई समयानुकूल परिष्कार, पुनव्र्याख्या र सिर्जनात्मक रूपान्तरण गर्ने माध्यम पनि हो । समाजमा रहेका सकारात्मक मूल्य र अभ्यासको संरक्षण गर्दै विभेदकारी तथा अव्यावहारिक परम्परालाई सुधार्न सक्ने चेतना शिक्षाले दिनुपर्छ । यसरी मात्र संस्कृति जीवन्त र गतिशील रहन सक्छ ।
शिक्षाका व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्देश्य हुन्छन् । त्यसैले अबको शिक्षाले स्वदेशीपनलाई महत्त्व दिँदै अन्तर्राष्ट्रिय चेतना र क्षमता पनि विकास गर्नुपर्छ । विद्यार्थीले आफ्नो गाउँ, समाज र देश बुझेर मात्र पुग्दैन । संसारमा भइरहेको वैज्ञानिक अनुसन्धान, आविष्कार, प्रविधि र नवप्रवर्तनबारे जानकारी राख्न तथा तिनको उपयोग गर्न पनि सक्षम हुनुपर्छ । विश्वसँग संवाद, सहकार्य र प्रतिस्पर्धा गर्न सक्ने क्षमता आजको शिक्षाको अनिवार्य आवश्यकता हो ।
विश्वव्यापी दृष्टिको विकास गर्नु भनेको आफ्नो पहिचान छाडेर अरूको नक्कल गर्नु होइन । आफ्नै समाज र परिवेशको गहिरो ज्ञान राख्दै विश्वमा विकसित भइरहेका ज्ञान, विज्ञान र प्रविधिबाट लाभ लिन सक्नु यसको उद्देश्य हो । एक्काइसौँ शताब्दीको तेस्रो दशकमा प्रवेश गरिसक्दा विश्व एउटा गाउँजस्तै बनेको छ । यस्तो अवस्थामा शिक्षाले विद्यार्थीलाई आफ्नै जीवन र समाजसँग जोड्नुका साथै विश्वका गतिविधि र नवीनतम उपलब्धिबारे जानकार बनाउनुपर्छ ।
अहिलेको शिक्षालाई समयसापेक्ष बनाउने बहस पनि यही सन्दर्भमा महत्त्वपूर्ण छ । परम्परागत ज्ञानलाई मात्र दोहो¥याएर आजका आवश्यकता पूरा गर्न सकिँदैन । ज्ञान, सीप र समाजका आवश्यकता निरन्तर परिवर्तन भइरहेका छन् । त्यसैले कृत्रिम बुद्धिमत्ता, डिजिटल सीप, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताजस्ता विषयलाई शिक्षामा समेट्नुपर्छ । परम्परागत ज्ञान र आधुनिक प्रविधिबीच सन्तुलन कायम गर्न सक्ने शिक्षा आजको आवश्यकता हो ।
शिक्षामा स्वदेशी चेतना विकास गर्न स्थानीय ज्ञान, सीप, भाषा, संस्कृति, इतिहास र प्राकृतिक सम्पदालाई पाठ्यक्रमसँग जोड्नुपर्छ । विद्यार्थीले आफ्नै परिवेशका सम्भावना र समस्या पहिचान गर्ने, खोज तथा अनुसन्धान गर्ने र स्थानीय स्रोतको उपयोगबाट उत्पादन तथा नवप्रवर्तन गर्न सक्ने क्षमता हासिल गर्नुपर्छ । अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारी खोज्ने सीपसँगै आफ्नै माटोमा अवसर सिर्जना गर्न सक्ने उद्यमशीलता पनि शिक्षाको उद्देश्य बन्नुपर्छ ।
पाठ्यक्रममा स्थानीय समाजको आवश्यकता, प्रकृति, उत्पादन, उद्यमशीलता र ऐतिहासिक महत्त्वका विषय समावेश गर्नुपर्छ । साथै विश्वस्तरमा विकसित ज्ञान, विज्ञान, प्रविधि र अनुसन्धानलाई पनि स्थान दिनुपर्छ । यसले विद्यार्थीलाई आफ्नो पहिचानमा अडिएर विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ ।
शिक्षा प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र हुनुहुँदैन । यसले व्यक्तिलाई आफूलाई चिन्न, आफ्नो समाज बुझ्न र विश्वसँग संवाद तथा सहकार्य गर्न सक्षम बनाउनुपर्छ । आफ्नै भाषा, संस्कृति, इतिहास, भूगोल र सामाजिक यथार्थसँग नजोडिएको शिक्षा जराविनाको रूखजस्तै कमजोर हुन्छ । त्यस्तै, विश्वका नवीन ज्ञान र प्रविधिबाट टाढा रहेको शिक्षा समयसापेक्ष हुन सक्दैन । त्यसैले अबको शिक्षाले स्वदेशी चेतनाको जगमा उभिएर विश्वस्तरीय ज्ञान, सीप र प्रतिस्पर्धात्मक क्षमता विकास गर्नुपर्छ ।