२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

सेयरधनीका नाममा चलखेल

Nada
नरेन्द्रमान श्रेष्ठ
२०८३ कार्तिक ३० गते ०६:००
Shares
सेयरधनीका नाममा चलखेल

सूचीकृत कम्पनीका वार्षिक साधारणसभा पछिल्लो समय सेयरधनीको उपस्थिति, भाषण र लाभांश वितरणको औपचारिकतामा मात्र सीमित हुन थालेका छन् । सभामा नक्कली सेयरधनीको उपस्थिति, सीमित व्यक्तिको बारम्बारको भाषण र भत्ताको लेनदेनबारे प्रश्न उठ्न थालेका छन् । अरूको नाम र डिम्याट खाताको विवरण प्रयोग गरेर सभामा उपस्थित हुने प्रवृत्ति बढेको क्यापिटलका कर्मचारी तथा सरोकारवालाको भनाइ छ ।

कतिपय व्यक्ति एउटै सभामा तीन–चारपटकसम्म हाजिर गर्न आउने र एकै व्यक्तिले अरूका नाममा समेत उपस्थिति जनाउन खोज्ने गरेको बताइन्छ । त्यसो गर्न नदिँदा विवादसमेत हुने गरेको जानकारहरूको भनाइ छ । यस्तो प्रवृत्तिले साधारणसभाको वास्तविक उपस्थिति र सहभागितामाथि प्रश्न उठाएको छ ।

साधारणसभामा आउने सेयरधनी पनि विभिन्न प्रकृतिका हुने गरेका छन् । ठुला लगानीकर्ता, थोरै कित्ता सेयर भएका साना लगानीकर्ता, कम्पनीबाट भत्ता लिएर बोल्ने र सभामा उपलब्ध खाजा झोलामा बोकेर फर्किनेहरूलाई व्यंग्यात्मक रूपमा ‘भत्तावाल’ र ‘झोलावाल’ सेयरधनी भन्ने गरिन्छ । कतिपयले त यस्ता सभामा वास्तविक सेयरधनी नभई अरूकै नाममा उपस्थित हुने व्यक्तिसमेत रहेको दाबी गर्छन् ।

यस्ता गतिविधि नियन्त्रण गर्न साधारणसभामा सहभागी हुने प्रत्येक सेयरधनीको परिचयपत्र अनिवार्य जाँच गर्नुपर्ने माग उठेको छ । परिचय खुल्ने कागजात लिएर आउनुपर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अब परिचयपत्र हेरेर मात्र उपस्थिति जनाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने सेयरधनीहरूको सुझाव छ ।

वार्षिक साधारणसभा कम्पनीको आर्थिक वर्षभरिका गतिविधि समीक्षा गर्ने र आगामी योजनामाथि छलफल गरी निर्णय गर्ने महत्त्वपूर्ण मञ्च हो । कम्पनीले वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लाभांश वितरण र भावी योजनासम्बन्धी प्रस्ताव सभामा प्रस्तुत गर्छ । ती प्रस्ताव सेयरधनीबाट पारित भएपछि मात्र कार्यान्वयनको प्रक्रिया अघि बढ्छ । त्यसैले साधारणसभा कम्पनीको जवाफदेहिता र सेयरधनीको अधिकार सुनिश्चित गर्ने महत्त्वपूर्ण अवसर हो ।

तर सभामा बोल्ने वक्ताको सीमित समूह र उनीहरूलाई दिइने भत्ताबारे पनि चर्चा हुने गरेको छ । जानकारहरूका अनुसार केही कम्पनीले साधारणसभामा बोल्ने व्यक्तिलाई दुई हजार ५०० देखि सात हजार रुपैयाँसम्म दिने गरेका छन् । कम्पनीका वार्षिकोत्सव तथा अन्य कार्यक्रममा पनि तिनै परिचित वक्तालाई प्राथमिकता दिने गरिएको आरोप लाग्ने गरेको छ । 

पछिल्लो समय साधारणसभामा महिला सेयरधनी र नयाँ वक्ताको सहभागिता बढ्नु भने सकारात्मक पक्ष हो । तर कम्पनीको तर्फबाट भत्ता लिएर बोल्ने र सीमित व्यक्तिले मात्र सभामा आफ्नो प्रभाव जमाउने प्रवृत्तिले आमसेयरधनीको आवाज ओझेलमा पर्न सक्ने जोखिम छ ।

प्रि–एजिएमको औचित्य के ?

कतिपय बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभाअघि ‘प्रि–एजिएम’ अर्थात् पूर्वसाधारणसभा गर्ने गरेका छन् । कम्पनीहरूको दाबीमा यस्तो कार्यक्रम सेयरधनीसँग अन्तरक्रिया गर्ने र कम्पनीका प्रस्तावबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिन्छ । तर यस्ता कार्यक्रममा सीमित र परिचित वक्तालाई मात्र बोलाउने गरिएको भन्दै प्रश्न उठ्ने गरेको छ ।

साधारणसभामै कम्पनीको प्रतिवेदन, कामकारबाही र प्रस्तावमाथि छलफल गर्न सकिने अवस्थामा छुट्टै पूर्वबैठक किन आवश्यक पर्‍यो भन्ने जिज्ञासा आमसेयरधनीमा छ । सबै इच्छुक सेयरधनीलाई सहभागी नगराई केही व्यक्तिलाई मात्र बोलाउनुको औचित्य के हो भन्ने प्रश्न पनि उठेको छ ।

कतिपय कम्पनीले प्रि–एजिएममा सहभागी हुने व्यक्तिलाई यातायात खर्चसमेत उपलब्ध गराउने गरेका छन् । साधारणसभामा बोल्ने निश्चित व्यक्तिलाई पूर्वतयारीका लागि बोलाउने र कम्पनीका प्रस्तावबारे उनीहरूसँग छलफल गर्ने गरिएको आरोपसमेत लाग्ने गरेको छ । यस्तो अभ्यासले कम्पनीले आलोचनात्मक आवाजलाई प्रभावित पार्न खोजेको आशंका जन्माउन सक्छ ।

साधारणसभामा बोल्ने सेयरधनीले समग्र लगानीकर्ताको प्रतिनिधित्व गर्ने हो भने उनीहरूले आमसेयरधनीका समस्या र सुझावसमेत समेट्नुपर्ने हुन्छ । तर सभामा उपस्थित अन्य सेयरधनीसँग छलफल नगरी आफ्नै ढंगले धारणा राख्ने प्रवृत्ति रहेको गुनासो सुनिन्छ । एउटै व्यक्तिले हरेक सभामा बोलिरहने र आमलगानीकर्ताका मुद्दा ओझेलमा पर्ने अवस्था अन्त्य हुनुपर्ने माग पनि उठिरहेको छ ।

कम्पनीका गतिविधिमाथि प्रश्न उठाउने, प्रतिवेदनको समीक्षा गर्ने र व्यवस्थापनलाई जवाफदेही बनाउने अधिकार प्रत्येक सेयरधनीको हो । त्यसैले साधारणसभा सीमित वक्ताको मञ्च बन्नु हुँदैन । कम्पनीहरूले परिचयपत्र जाँच, पारदर्शी उपस्थिति र सबै सेयरधनीलाई समान अवसर दिने व्यवस्था गर्नुपर्छ । प्रि–एजिएमको उद्देश्य र त्यसमा हुने खर्चसमेत पारदर्शी बनाउन आवश्यक छ ।

साधारणसभाको गरिमा भाषण गर्ने व्यक्तिको संख्या वा उनीहरूले पाउने भत्ताले होइन, त्यहाँ उठ्ने प्रश्न, हुने छलफल र कम्पनीलाई जवाफदेही बनाउने निर्णयले निर्धारण गर्छ । यसतर्फ कम्पनी र नियामक दुवैको ध्यान जान जरुरी छ ।

laxmi recruitement

सम्बन्धित खबर