
काठमाडौं : छठ पर्व मधेशको मौलिक सांस्कृतिक पहिचान हो । तर, पछिल्लो समय यो पर्व धार्मिक आस्थासँगै राजनीतिक भेटघाट र जनसम्पर्कको अवसर पनि बन्दै गएको छ । यस वर्ष छठ मनाउन मधेश झरेका शीर्ष नेताको उपस्थितिले यसलाई थप चर्चामा ल्याएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुर पुगे । उनले गंगासागर पोखरीमा आयोजित छठको पूजाअर्चनामा सहभागिता जनाए । प्रतिनिधिसभाका सभामुख डिपी अर्याल छठकै अवसरमा बाराको सिमरा पुगे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा पनि पत्नी डा. अञ्जना केसी थापासहित सर्लाही पुगे । थापाले छठले नेपाली समाजमा सकारात्मकता फैलाउन प्रेरित गरोस् भन्ने अपेक्षा व्यक्त गरे ।
नेताहरूको यो उपस्थितिलाई धार्मिक सहभागिताका रूपमा मात्र बुझिएको छैन । मधेशको जनमत र राजनीतिक प्रभावलाई आफूतर्फ तान्ने प्रर्यत्नका रूपमा पनि हेरिएको छ । खासगरी गत निर्वाचनमा मधेशको जनमत रास्वपाको पक्षमा उर्लिएको थियो । आउँदो फागुनमा हुने स्थानीय तह निर्वाचनले पनि नेताहरूलाई मधेश डोर्याएको बुझ्न कठिन छैन । चाडपर्वका अवसरमा स्थानीय समुदायसँग भेटघाट गर्नु, उनीहरूको भावना बुझ्नु र आफ्नो उपस्थिति देखाउनु राजनीतिक दृष्टिले पनि अर्थपूर्ण हुन्छ ।
लामिछानेको जनकपुर भ्रमणलाई रास्वपाको मधेश प्रदेशमा देखिएको सांगठनिक समस्यासँग जोडेर हेरिएको छ । पार्टीले अन्य प्रदेशमा अधिवेशन प्रक्रिया अघि बढाए पनि मधेशका आठ जिल्लामध्ये पर्सामा मात्रै जिल्ला अधिवेशन सम्पन्न गरेको थियो । बाँकी जिल्लामा विवादका कारण अधिवेशन प्रक्रिया रोकिएको थियो । त्यसको असर केन्द्रीय महाधिवेशनका प्रतिनिधि छनोटमा समेत परेको थियो ।
यसै समस्याको अध्ययन गर्न रास्वपाले सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेश अडिट’ समिति गठन गरेको थियो । समितिले आठै जिल्लामा समान प्रकृतिका समस्या देखिएको निष्कर्षसहित प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ । प्रतिवेदनमा विधिबाहिर भएका अधिवेशन प्रक्रिया खारेज गरी सहमतिका आधारमा नयाँ तदर्थ समिति बनाउन सुझाव दिइएको छ ।
संगठनभित्र पुराना र नयाँ सदस्यबीचको द्वन्द्व, पदाधिकारीबीचको असमझदारी, सांसदहरूको संगठनमा चासो र स्थानीय तहमा उम्मेदवार बन्न चाहनेहरूको प्रतिस्पर्धाले समस्या बढाएको बताइन्छ । पार्टीभित्र रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहनिकट समूहबीच प्रभाव विस्तारको प्रतिस्पर्धा रहेको चर्चा पनि छ ।
तर, यी आन्तरिक असमझदारीको आधिकारिक निष्कर्ष भने पार्टीले प्रतिवेदन अध्ययनपछि निकाल्न बाँकी छ ।
यस्तो अवस्थामा लामिछानेको जनकपुर भ्रमणलाई संगठनको अवस्था बुझ्ने र स्थानीय नेता–कार्यकर्तासँग सम्बन्ध सुधार्ने अवसरका रूपमा पनि हेरिएको छ । यद्यपि, रास्वपाका नेताहरूले उनको भ्रमणलाई सांस्कृतिक र धार्मिक सहभागिताका रूपमा व्याख्या गरेका छन् ।
कांग्रेस सभापति गगन थापाको सर्लाही भ्रमण पनि राजनीतिक दृष्टिले अर्थपूर्ण छ । गत निर्वाचनमा उनी सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । निर्वाचनमा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भए पनि त्यहाँको जनसम्पर्क र स्थानीय राजनीतिक सम्बन्ध कायम राख्नु उनका लागि महत्त्वपूर्ण हुन सक्छ । सर्लाहीपछि वीरगन्ज पुगेर स्थानीयसँग संवाद गर्ने र प्रदीप गिरी फेलोसिपको शुभारम्भ कार्यक्रममा सहभागी हुने उनको कार्यक्रम छ ।
सभामुख अर्यालले भने छठका अवसरमा सिमरा पुगेर जातजाति, भाषा, धर्म र भूगोलका आधारमा विविधतायुक्त नेपाली समाजको सहअस्तित्वलाई नेपालको विशेषता बताएका छन् । छठ पर्वले सबैलाई एउटै घाटमा उभ्याउने सांस्कृतिक सन्देश दिन्छ । तर, राजनीतिक दलका लागि छठ जनतासँग जोडिने अवसर पनि बनेको छ ।