२०८३ मंसिर ६ गते आइतवार / Nov 22 , 2026 , Sunday
२०८३ मंसिर ६ गते आइतवार

कृषि श्रमिक खोज्दै जापानी रोजगारदाताहरू नेपालमा

Nada
२०८३ मंसिर ६ गते ०६:१५
Shares
कृषि श्रमिक खोज्दै जापानी रोजगारदाताहरू नेपालमा

काठमाडौं : जापानका कृषि उद्यमीहरूले नेपाली युवायुवतीका लागि आफ्नो मुलुकमा आकर्षक तलबसहित पर्याप्त रोजगारीका अवसर रहेको बताएका छन् । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयसँग आबद्ध संस्था नेसनल चेम्बर अफ एग्रिकल्चरको आयोजनामा शनिबार ललितपुरमा आयोजित जापानको विशिष्ट सीपमा दक्षता भएका कामदारअन्तर्गत कृषि क्षेत्रमा नेपाली कामदार लैजाने विषयमा भएको अन्तरक्रियामा उनीहरूले यस्तो जानकारी दिएका हुन् । हाल जापानी कृषि उद्यमीहरूको प्रतिनिधिमण्डल नेपाल आएको छ ।

ललितपुरमा सम्पन्न कार्यक्रममा जापानका कृषि क्षेत्रमा नेपाली युवालाई प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रम (टिआइटिपी) र विशिष्ट सीपमा दक्षता भएका कामदार (एसएसडब्लु) गरी दुई प्रकारका वर्किङ भिसामा लैजान चाहेको उनीहरूले बताए । 

जापानको कृषि क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई प्राविधिक प्रशिक्षार्थी तालिम, निर्दिष्ट दक्ष कामदार (क) र निर्दिष्ट दक्ष कामदार (ख) गरी तीन वर्गमा विभाजन गरिएको छ । निर्दिष्ट दक्ष कामदार (ख) अन्तर्गतका श्रमिकले आवश्यक सर्त पूरा गरेको अवस्थामा श्रीमान्÷श्रीमती र छोराछोरीलाई समेत जापान लैजान पाउनेछन् । उनीहरूले पनि त्यहाँ वैधानिक रूपमा काम गर्न पाउने व्यवस्था छ ।

जापान सरकारले विकासोन्मुख देशका युवालाई कार्यस्थलमै प्राविधिक सीप, ज्ञान र कार्यअनुभव प्रदान गर्न प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रम सञ्चालन गरेको हो । यसका लागि सीपसँगै जापानी भाषामा दक्ष हुनु अनिवार्य रहेको बुलप्लान्ट कम्पनी लिमिटेडका प्रतिनिधि दाइसुके कियामाले जानकारी दिए ।

कृषि, निर्माण, खाद्य प्रशोधन, उत्पादन, मेसिनरी तथा धातुजन्य काम, कपडा उद्योग र भवन सरसफाइजस्ता विभिन्न क्षेत्रमा रोजगारी पाउने प्रशिक्षार्थीले जापानमा तीनदेखि पाँच वर्षसम्म काम र तालिम लिन पाउने व्यवस्था छ ।

यसका लागि कम्तीमा १८ वर्ष उमेर पूरा भएको र जापानी भाषाको आधारभूत ज्ञान, सामान्यतया जेएलपिटी वा एन–४ वा सोसरहको भाषा दक्षता भएको हुनुपर्ने प्रावधान छ ।

जापानका च्याउ खेती कृषक ताकेसी नाकाजिमाले अहिले भियतनामी श्रमिकले काम गरिरहेको जानकारी दिँदै नेपालीलाई पनि ती क्षेत्रमा लैजान चाहेको बताए । उनले श्रमिकका लागि तलब र आवासको पर्याप्त सुविधा रहेको उल्लेख गरे ।

जापानी रोजगारदाताहरूले टिआइटिपीअन्तर्गत जाने श्रमिकको मासिक तलब १ हजार २१३ अमेरिकी डलर र एसएसडब्लुअन्तर्गत जाने श्रमिकको मासिक तलब १ हजार ४०७ अमेरिकी डलर रहेको जानकारी दिए ।

३० जना नेपालीलाई रोजगारी दिइरहेका एक रोजगारदाताले नेपाली श्रमिकले गाडी चलाउन सिकेर जाँदा थप लाभदायक हुने बताए ।

कार्यक्रम संयोजक लियो इन्टरनेसनल एचआरसी प्रा.लि.का सञ्चालक कमल निरौलाले जापानको कृषि प्रणाली विश्वमै उत्कृष्ट रहेको र नेपाल पनि कृषि प्रधान मुलुक भएकाले जापानको कृषि क्षेत्रमा नेपाली श्रमिकका लागि रोजगारी लाभदायक हुने बताए ।

laxmi recruitement

सम्बन्धित खबर