
काठमाडौं : नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले मङ्सिर १० गते गर्ने भनिएको आन्दोलन घोषणा कार्यक्रम सारेको छ ।
टुँडिखेल आगामी दुई महिनाका लागि बुक भइसकेको र भृकुटीमण्डपमा पनि राजनीतिक कार्यक्रम गर्न अनुमति नपाएपछि कार्यक्रम सार्नुपरेको जनमत पार्टीका महासचिव सञ्जय यादवले बताए ।
अब माइतीघरबाट आन्दोलन घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए । यसबारे निर्णय गर्न मोर्चाले मङ्सिर १५ गते बैठक बोलाएको छ ।
मोर्चाले यसअघि जनकपुर र विराटनगरमा सभा गरिसकेको छ भने आज धरानमा कार्यक्रम आयोजना गरेको छ ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल जनमुक्ति पार्टी सम्मिलित छन् ।
नौ दल सम्मिलित मोर्चाले मधेसी, आदिवासी जनजाति, दलितलगायत सीमान्तकृत समुदायको समान अधिकार, समावेशिता र सामाजिक न्यायका लागि आन्दोलन गर्न लागेको जनाएको छ ।