२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

Nada
२०८३ मंसिर ८ गते १४:३९
Shares
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

काठमाडौँ : चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ-२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्ने छन् । उनीहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन् । 

सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्ने छन् । चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ । उनी शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्कर्नेछन् । 

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।

मिसनका चिनियाँ सदस्य ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसकेका छन् । उनी तेस्रो पटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्ने सीसीटीभीले जनाएको छ ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर