
नयाँदिल्ली : मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै भारतको निर्वाचन प्रमुख ज्ञानेश कुमारको राजीनामा मागेर शनिबार राजधानी नयाँदिल्लीमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको प्रदर्शन निर्वाचन आयोगमाथि लागेको अनियमितताको आरोपपछि सुरु भएको आन्दोलनको निरन्तरता हो ।
भारतको निर्वाचन आयोगले भने आरोप अस्वीकार गर्दै मतदाता नामावलीको विशेष पुनरावलोकन दोहोरो नाम हटाउन र अयोग्य मतदातालाई सूचीबाट बाहिर राख्न गरिएको जनाएको छ । विपक्षी दल तथा आलोचकहरूले भने यस प्रक्रियाले वास्तविक मतदाताहरू मतदानको अधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्न सक्ने आशंका व्यक्त गरेका छन् ।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका दर्जनौँ मेट्रो स्टेसन बन्द गर्ने आदेश दिइएको छ भने केही रेल सेवा पनि रद्द गरिएका छन् । भारतको सर्वोच्च अदालतले भने सबै मेट्रो स्टेसन एकैपटक बन्द नगर्न र केही रेल सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ ।
सीजेपीले देशभर कम्तीमा १० हजार समर्थकलाई नियन्त्रणमा लिइएको आरोप लगाएको छ । प्रहरीले यस आरोपबारे विस्तृत प्रतिक्रिया दिएको छैन ।
सन् २०२५ मा सुरु भएको मतदाता नामावली पुनरावलोकनका क्रममा प्रारम्भिक सूचीबाट १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएको बताइएको छ । यस घटनाले भारतमा निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदान अधिकारसम्बन्धी बहसलाई थप चर्काएको छ ।