
दोहा, कतार : साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । शनिबार भएको आक्रमणमा चार जना साउदी नागरिक, दुई जना बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना नागरिकको मृत्यु भएको साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। घटनापछि विमानस्थलको सञ्चालन रोकिएको छ भने सुरक्षा अवस्था र भौतिक क्षतिको मूल्यांकन भइरहेको छ ।
अलजजिरा र रोयटर्सका अनुसार एक साताभित्र रियाद विमानस्थलमा भएको यो तेस्रो आक्रमण हो । यसअघि भएका आक्रमणमा पनि मानवीय क्षति भएको थियो भने एउटा व्यावसायिक विमानमा क्षति पुगेको थियो । पछिल्लो घटनालाई एक दशकभन्दा लामो अवधिमा साउदी अरबमाथि भएको सबैभन्दा घातक आक्रमणका रूपमा हेरिएको छ । साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीलाई घटनाको जिम्मेवार ठहर गर्दै निर्णायक जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। तर पछिल्लो आक्रमणको जिम्मेवारी हुथी समूहले औपचारिक रूपमा लिएको पुष्टि भएको छैन ।
घटनाप्रति कतारले कडा निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले आक्रमणलाई साउदी अरबको सार्वभौमिकतामाथिको गम्भीर उल्लंघन तथा क्षेत्रीय सुरक्षा, नागरिकको जीवन र नागरिक हवाई पूर्वाधारमाथिको प्रत्यक्ष खतरा भनेको छ । कतारले साउदी अरबप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै आफ्नो सार्वभौमिकता, सुरक्षा र भूभागको संरक्षणका लागि साउदी अरबले चाल्ने वैध कदमलाई समर्थन गर्ने जनाएको छ l
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणप्रति गहिरो स्तब्ध व्यक्त गर्दै निन्दा गरेका छन् । नागरिक र नागरिक पूर्वाधारमाथिका आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने उल्लेख गर्दै उनले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन्। यमनका लागि संयुक्त राष्ट्र संघका विशेष दूत हान्स ग्रुन्डबर्गले साउदी अरबका नागरिक विमानस्थलमाथि भएका आक्रमणलाई द्वन्द्वमा गम्भीर वृद्धि भएको संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस्ता घटनाले क्षेत्रीय सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्नुका साथै यमनमा शान्ति स्थापनाका प्रयासलाई थप जटिल बनाउँछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई भयानक घटना भन्दै साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग छलफल गर्ने बताएका छन्। अमेरिकाले हुथी विद्रोही विरुद्ध साउदी अरबको सैन्य कारबाहीमा सहभागी हुने वा नहुने विषयमा विचार गरिरहेको पनि उनले बताएका छन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आक्रमणमा अमेरिकी नागरिकको मृत्यु भएको उल्लेख गर्दै घटनाको निन्दा गरेका छन् र साउदी अरबप्रति समर्थन व्यक्त गरेका छन् । यद्यपि, अमेरिकाले सैन्य रूपमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको छैन । वासिङ्टनको आगामी निर्णयले यमनमा जारी द्वन्द्व र खाडी क्षेत्रको सुरक्षा परिस्थितिमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ ।
यसैबीच, साउदी अरबको दमामस्थित किङ फाहद अन्तर्राष्ट्रिय विमानस्थलनजिक पनि प्रक्षेप्य खसेको छ। घटनाबाट भएको क्षति र विमानस्थलको सञ्चालनमा परेको असरबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । रियाद विमानस्थलमा भएको आक्रमणपछि त्यहाँका उडान सञ्चालन रोकिएका छन् भने केही अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले उडान रद्द गरेका वा अन्यत्र मोडेका छन् । हुथी समूहले साउदी अरबको हवाई क्षेत्र प्रयोग गर्ने विमान सेवा कम्पनी र यात्रुलाई पुनः चेतावनी दिएको छ । विमानस्थल कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा फर्किन्छ भन्ने स्पष्ट समय सार्वजनिक भएको छैन । यात्रुलाई सम्बन्धित विमान सेवा कम्पनीसँग उडानको अवस्था पुष्टि गरेर मात्र विमानस्थल जान आग्रह गरिएको छ ।
पछिल्लो घटनाले साउदी अरबमा कार्यरत नेपालीसहित विदेशी नागरिकको सुरक्षाबारे पनि चासो बढाएको छ । रियाद तथा दमाममा रहेका नेपालीले स्थानीय अधिकारीका निर्देशन पालना गर्न र आधिकारिक सूचनालाई प्राथमिकता दिन आवश्यक छ ।