
ललितपुर : ‘कलर्स फर पिस’ र इटालीको परराष्ट्र मन्त्रालयको आयोजना तथा ‘कलर्स फर पिस नेपाल’ को सहकार्यमा ललितपुरस्थित पाटन सङ्ग्रहालयको भण्डारखाल बगैँचामा ‘पिस’ कला कार्यशाला तथा शान्ति दूत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
योङ पिकासोको संयोजनमा सोमबार आयोजित कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो । नेपाल र इटालीको राष्ट्रिय गान प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले परम्परागत नृत्य प्रस्तुत गरेका थिए ।
योङ पिकासोका निर्देशक एवम् नेपालका लागि शान्ति दूत अजय देसारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा योङ पिकासोका निर्देशक देशारले साना साना भाइबहिनीले मुलुकमा शान्ति स्थापना गर्नका लागि चित्रमार्फत पनि सन्देश प्रवाह गरेको उल्लेख गर्दै उनले भने, ‘ हामीले तपाईहरुको चित्रलाई १५५ देशमा प्रदर्शन गरी विश्वका विभिन्न मुलुकमा पुर्याउने भएका छौं ।’
त्यसैगरी इटालीकी प्रतिनिधि एड्रिना ग्रिस्पाले साना भाइबहिनीको चित्रकलामार्फत पनि शान्त्ति स्थापना गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।
पाटन संग्र्रहालयका प्रवक्ता सुरेशमान लाखेले आफूहरुले कलाको माध्यमबाट पनि समृद्धि र प्रगतिको कामना गर्ने अवसरमा पाएकोमा खुशी व्यक्त गरे ।
कलर्स फर पिस नेपालका महासचिव मारियो गालोले ‘शान्ति, शान्ति, शान्ति चित्रकलाको मार्फत पनि शान्ति’ भन्ने गान प्रस्तुत गर्दै यसले विश्वभर शान्ति स्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कलर्स फर पिसका अध्यक्ष एन्टोनियो जियानेलीले कला र शान्तिको महत्वबारे चर्चा गरेको कार्यक्रमको मुख्य आकर्षणका रूपमा पिस एमबेस्डर रिकग्निसन सेरेमोनी सञ्चालन गरिएको थियो ।
सो अवसरमा इटालीका लागि नेपालकी मानार्थ महावाणिज्यदूत महामहिम प्रतिमा राणा पाण्डेले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल र इटालीबीच ६६ वर्ष लामो मित्रताको सम्बन्ध रहेको स्मरण गरिन् ।
उक्त समारोहमा इटालीका लागि नेपालकी मानार्थ महावाणिज्यदूत पाण्डे, कलर्स फर पिसका अध्यक्ष एन्टोनियो जियानेली, इटालीको परराष्ट्र मन्त्रालयकी शैक्षिक प्रतिनिधि एड्रिना ग्रिस्पा, कलर्स फर पिस नेपालका महासचिव मारियो गालो, पाटन संग्र्रहालयका प्रवक्ता लाखे, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी र काठमाडौं भ्याली हेरिटेज प्लसका अध्यक्ष राजु रोक्का लगायतले शान्ति र कलाको अन्तर सम्बन्ध माथि चर्चा गरेका थिए ।
सो अवसरको एक सय बढी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै कार्यक्रममा सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र, स्वयंसेवकहरूलाई सम्मानपत्र, कार्यशाला टोलीका सदस्यहरूलाई कदरपत्रका साथै अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।