
काठमाडौं : नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा त्रिदेवी उपमाले प्रसिद्ध वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को शुभारम्भ गरेका हुन् ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राखेका थिए ।
चलचित्र क्षेत्रका विशिष्ट चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरूले हालैका प्राकृतिक विपत्ति र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित बनाएको विषयमा चर्चा गर्दै यस वर्षको दसैं सचेत र सामान्य रूपमा मनाउनुपर्ने बताएका थिए । उनीहरूले चाडपर्वमा अनावश्यक तडकभडक गर्नुभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, लय संग्रौला, रविन्द्र खड्का, आकाश अधिकारी, भूईंसाल लामा, मनोज आचार्य र घनश्याम खतिवडाले कला, संस्कृति र चलचित्रले समाजको जनजीवनलाई प्रतिबिम्बित गर्ने बताए ।
उनीहरुले नेपाली जनशक्ति र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्वदेशी सेवाको प्रवर्धन गर्नुपर्ने धारणा राखेका थिए ।
संघका अध्यक्ष केसीले घटस्थापनाको अवसरमा बडादशैंको शुभकामना आदानप्रदान गर्न साथै, नेपाली जनशक्ति, रोजगारी र अर्थतन्त्रलाई आधार बनाएको साथी मोबिलिटी प्रा.लि.को ‘साथी राइड’लाई प्राथमिकता दिन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुल र एनके डान्स ग्रुपले सामूहिक नृत्य तथा सविता कार्की र सम्वृद्धि भण्डारीले दशैं विशेष नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साथी राइड एप डाउनलोड गर्ने राइडर तथा प्रयोगकर्तामध्ये पाँच–पाँच जनालाई गोलाप्रथामार्फत पुरस्कार प्रदान गरिएको थियो । राइडरहरूलाई हेलमेट र प्रयोगकर्ताहरूलाई एयरबड वितरण गरिएको थियो । सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुति दिने सहभागीहरूलाई प्रमाणपत्र र विशिष्ट कलाकर्मीहरूलाई उपहारस्वरूप कप प्रदान गरिएको थियो ।
कार्यक्रममा द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी र चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष लव प्याकुरेलको उपस्थिति थियो । त्यसैगरी, कलाकारहरू पुजना प्रधान, तेजुला कतिवडा, पवन खतिवडा, जीवन थापा,पवन केसी, श्रीदेव भट्टराई, ईन्द्रलामा खमम्वे, नविन श्रेष्ठ, सुलेमान संकर, छुल्टिम गुरुड, पुरन जोशी, लव शर्मा, किरण केसी, एनबी महर्जन, आरपी पन्त, बसन्त खत्री, रामशरण जंगम, सुवाष गजुरेल, उत्सव केसी, माधव खरेल, भोला अधिकारी मिना पुरी,जयन्त रेग्मी, देवेन्द्र पाण्डे, अमर वली,कमलकान्त मैनाली, सपना श्रेष्ठ, पुकार भट्टराई, मानबहादुर थापा, नम्रता खरेल, दिनेश अवाल, सुमन सागर, दिपक अधिकारी, सुपा खनाल र रामेश्वर बुर्लाकोटी, कृष्ण शिवाकोटी, रामशरण कोईराला, झरना रिजाल लगायत सहभागी थिए ।
कार्यक्रममा प्रख्यात गायक तथा गायिकाहरूले पनि आफ्नो विशेष सांगीतिक प्रस्तुति दिएका थिए । गायकहरू आनन्द कार्की, राजन चौलागाई, विनोद ढकाल, सुमित खड्का र कृष्णराज भण्डारी तथा गायिकाहरू सारिका घिमिरे, अनु गौतमले लोकप्रिय गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाएका थिए ।
कार्यक्रमको सञ्चालन संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गरेका थिए । साथी मोबिलिटी प्रा.लि.को विशेष सहयोगमा सम्पन्न कार्यक्रमले ‘साथी राइड’को प्रयोग बढाउन तथा नेपाली प्रविधि र स्वदेशी सेवाको प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।