
काठमाडौँ : सल्यानका विभिन्न पालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस संक्रमणका कारण सात जनाको मृत्यु भएको छ ।
संक्रमणको दर तीव्र रूपमा बढे पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम अभाव देखिएको नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले बताएका हुन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद मल्लले नागरिकको स्वास्थ्यमाथि खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मल्लका अनुसार सल्यानको दार्मा, कुमाख र बागचौर गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप बढेको छ । पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा मात्र ३३५ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ ।
परीक्षण गरिएकामध्ये ३५ प्रतिशतमा रोग देखिएकाले वास्तविक संक्रमितको संख्या सरकारी तथ्यांकभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । स्थानीय तहले रोग नियन्त्रण र परीक्षणका लागि आवश्यक सहयोग माग गर्दै संघीय र प्रदेश सरकारलाई पत्राचार गरेको महिना दिन बितिसक्दा पनि कुनै ठोस सुनुवाइ भएको छैन । परीक्षण किटको अभावमा समयमै रोग पहिचान गर्न नसक्दा बिरामीहरू थप जोखिममा परेका मल्लले बताए ।
उनले भने, ‘सल्यानको दार्मा गाउँपालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस संक्रमणका कारण ७ जनाको दुःखद निधन भएको छ । संक्रमण बढ्दै जाँदा नागरिकहरू जोखिममा छन्। तर रोग पहिचानका लागि आवश्यक परीक्षण किटसमेत पर्याप्त छैन । स्थानीय तहले प्रदेश र संघीय सरकारसँग परीक्षण किट तथा आवश्यक स्वास्थ्य सामग्री माग गरेको लामो समय भइसक्दा पनि पर्याप्त सहयोग पाउन सकेको छैन । दार्मा, कुमाख र बाघचौरलगायतका पालिकामा संक्रमण बढिरहेको छ । पछिल्लो दुई महिनामा दार्मा र बाघचौरमा ३३५ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ, जुन परीक्षण गरिएकामध्ये करिब ३५ प्रतिशत हो । यो परीक्षणबाट देखिएको तथ्यांक मात्र हो । पर्याप्त परीक्षण हुन नसक्दा संक्रमणको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन । देशभर पनि स्क्रब टाइफसको संक्रमण बढिरहेको अवस्थामा कर्णाली र सुदूरपश्चिम बढी जोखिममा छन् । त्यसैले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सल्यानमा तत्काल पर्याप्त परीक्षण किट, औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गर्दछु । जोखिमयुक्त क्षेत्रमा घरदैलो स्वास्थ्य परीक्षण, जनचेतना अभियान र स्वास्थ्यकर्मीको अभिमुखीकरण सञ्चालन गरियोस् । संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी संक्रमण नियन्त्रणका लागि तत्काल आवश्यक कदम चालियोस् ।’
नेपालमा स्क्रब टाइफसको संक्रमण डरलाग्दो रूपमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा ९,२४३ रहेको संक्रमितको संख्या आव २०८१/८२ मा २५,४९४ पुगेको छ । विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी देखिएको छ । स्वास्थ्य सेवा नागरिकको मौलिक हक रहेको स्मरण गराउँदै सांसद मल्लले तत्काल औषधि, किट र स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरे । उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा जोखिमयुक्त समुदायमा घरदैलो स्वास्थ्य परीक्षण र जनचेतना अभियान तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।